कांग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव

काठमाडौं। नेपाली कांग्रेसले सुकुम्वासी बस्तीका समस्याको दीर्घकालीन समाधानका लागि अदालतबाट भएका आदेशहरू तथा विगतका संसदीय समितिका निर्णयलाई मार्गदर्शक मान्दै सरकार अघि बढ्नुपर्ने सुझाव दिएको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सुकुम्वासी समस्याको समाधानका लागि बल प्रयोगभन्दा अघि विवेकपूर्ण, न्यायोचित र मानवीय उपाय अवलम्बन गरिनु आवश्यक रहेकामा जोड दिएको हो। वास्तविक सुकुम्वासीको स्पष्ट पहिचान सुनिश्चित गरी सुकुम्वासीको नाममा गलत फाइदा लिइरहेकाहरूलाई कानुनबमोजिम व्यवहार गर्नुपर्नेमा कांग्रेसले जोड दिएको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

काग्रेस सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकले नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा आह्वान गरिएको संसद् अधिवेशनको बैठक नबस्दै पुनः स्थगित गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साथै अविलम्ब संसद् बैठक सुचारु गर्न, संसद् स्थगनका वास्तविक कारणहरू सार्वजनिक गर्न र संसद्प्रति सरकारको पूर्ण जवाफदेहिता सुनिश्चित गर्नुपर्ने कांग्रेसको माग गरेको प्रवक्ता चालिसेले जानकारी दिए।

त्यस्तै कांग्रेस संसदीय दलको विधानलाई समयसापेक्ष परिमार्जन गरी संशोधनसहित पारित गरेको छ। संशोधित विधानअनुसार संसदीय दलको नेता तथा कार्यसमिति चयन गर्ने प्रक्रियामा पार्टीको तर्फबाट समन्वय गर्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलाई जिम्मेवारी प्रदान गरिएको छ। कांग्रेसले विश्वविद्यालयमा विद्यार्थीका संस्थाहरूलाई खारेज नभई सुधार गर्नुपर्ने माग गरेको छ।

त्यस्तै बैठकले सिन्धुलीको प्रहरी हिरासतमा युवा कृष्ण विकको मृत्यु भएको घटनाप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ। बैठकले इरानी सैनिकद्वारा हिरासतमा लिइएका नेपाली नागरिक अमृत झाको सकुशल रिहाइका लागि आवश्यक कूटनीतिक पहल गर्न सरकारसमक्ष माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *