काठमाडौं। सरकारले समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषदको बैठकले उक्त कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको हो।
यी हुन् निर्णयहरू
- Integrated Water Supply and Sewerage Management (Sector) Project का लागि एसियाली विकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर ११५ मिलियन सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी वित्तीय सम्झौता तथा अन्य सम्बन्धित दस्तावेजलाई अन्तिम रूप दिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने।
- २०८३ वैशाख २१ र २२ गते रोमानियाको बुखारेष्टमा आयोजना हुने नेपाल र रोमानियाबीचको द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने।
- नेपाली महावाणिज्यदूतावास, हङकङमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई बीस दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन आउने गरी फिर्ता बोलाउने।
- समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने।
- नेपाली सेनाका तीनजना सहायक रथीहरूलाई सम्बन्धित सेवा, समूह तथा उपसमूहको उपरथी दर्जामा बढुवा गर्ने।
- २०८३ वैशाख २८ देखि जेठ १ गतेसम्म United States Department of War द्वारा संयुक्त राज्य अमेरिकामा सञ्चालन हुने Pacific Air Chiefs Seminar (PACS) विषयक कार्यक्रममा सहभागी हुन पाइलट उपरथी राम सुन्दर बोहरालाई स्वीकृति दिने।
- निजामती सेवा अन्तर्गत विभिन्न सेवाका पच्चिस जना राजपत्राङ्गित प्रथम श्रेणीका सहसचिव वा सो सरहका कर्मचारीहरूको सरुवा गर्ने।
- नेपाल सरकार, मन्त्रिपरिषद्को २०७५ भदौ २१ को निर्णयबमोजिम महाराजगज्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पुरै जग्गा (११४-३-०-० रोपनी) राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने गरी भएको निर्णयको सट्टामा सो जग्गा पूर्ववत रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्ने गरी आवश्यक व्यवस्था मिलाउने।
- सरकारी निकायमा भएका सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी विषयमा अध्ययन गर्न सम्माननीय प्रधानमन्त्रीज्यूको सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने।
- सरकारी सार्वजनिक गुठी जग्गा हिनामिना सम्बन्धी प्रतिवेदन, २०७६ (मोहनरमण भट्टराई) कार्यान्वयन गर्ने।
- नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३।०१।०८ को निर्णय अनुसार सम्माननीय राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन १४:०० बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान विशेष कारणवश स्थगित गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।
