काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको भेला बोलाएका छन् । उनले १५ वैशाखका लागि भेला डाकेका नेता खड्कानिकट एक केन्द्रीय सदस्यले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपलब्ध क्षेत्रीय सभापतिहरूको भेला बोलाइएको जानकारी दिए । भेला धुम्बाराहीस्थित होटल स्मार्टमा हुने ती नेताले बताए ।
खड्काको सचिवालयले पनि समूहको भेला बोलाइएको पुष्टि गरेको छ । सचिवालयका अनुसार ६ गतेको बैठकपछि निवर्तमान कार्यवाहक सभापति खड्काले समूहको भेला बोलाएका हुन् ।
सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी रिट खारेज गरेपछि नेता खड्काले धुम्बाराहीमा ६ वैशाखमा निवर्तमान केन्द्रीय सदस्यहरूसँग बैठक गरेका थिए । त्यसअघि उनले अघिल्लो दिन गल्फुटारस्थित निवासमा शीर्ष नेताहरूसँग छलफल गरेका थिए ।
६ वैशाखमै सभापति गगन थापा नेता खड्कालाई भेट्न उनको निवास गल्फुटार पुगेका थिए । दुई नेताबीच भएको छलफलबारे अहिलेसम्म सार्वजनिक रूपमा केही खुलाइएको छैन ।
