ओस्लोस्थित अमेरिकी दूतावासमा विष्फोट : आतङ्कवादी हमलाको आशङ्का

ओस्लो । नर्वेको राजधानी ओस्लोस्थित अमेरिकी दूतावासमा आइतबार बिहानै एउटा शक्तिशाली विष्फोट भएको छ। विष्फोटबाट दूतावासको भवनमा सामान्य क्षति पुगे पनि मानवीय हताहती भने नभएको अधिकारीहरूले जनाएका छन्। नर्वेली प्रहरीले यस घटनालाई ‘आतङ्कवादी कार्य’ हुनसक्ने प्राथमिक अनुमान गर्दै सुक्ष्म अनुसन्धान अगाडि बढाएको छ।

नर्वेको सार्वजनिक प्रसारण संस्था एनआरकेसँग कुरा गर्दै प्रहरीको संयुक्त अनुसन्धान तथा गुप्तचरी एकाइका प्रमुख फ्रोड लार्सनले घटनाको प्रकृतिका आधारमा यसलाई आतङ्कवादसँग जोडेर हेरिएको बताएका छन्। यद्यपि, प्रहरीले अन्य सम्भावित कारणहरूलाई पनि नकारेको छैन र अनुसन्धानका सबै ढोकाहरू खुल्ला राखिएको लार्सनले प्रष्ट पारेका छन्।

स्थानीय समयअनुसार आइतबार बिहान करिब १ बजे दूतावासको सार्वजनिक प्रवेशद्वार नजिकै विष्फोट भएको थियो। विष्फोट लगत्तै ठूलो संख्यामा सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालन गरिएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरूमा कन्सुलर खण्डको बाहिरी भागमा सिसाका टुक्राहरू छरिएको, ढोकामा चिरा परेको र भुइँमा कालो दागहरू देखिएका छन्।

प्रहरी टोलीले ओस्लोको मुख्य बजारभन्दा करिब ७ किलोमिटर टाढा रहेको मोर्गेडाल्सवेगेन क्षेत्रमा व्यापक खानतलासी गरेको छ। सुरक्षा कमाण्डर माइकल डेलिमिरका अनुसार विष्फोटपछि प्रहरीले उक्त क्षेत्रमा शंकास्पद गतिविधि देखेका वा आवाज सुनेका सर्वसाधारणसँग सूचनाका लागि अपिल समेत गरेको छ।

नर्वे सरकारले यस घटनालाई अक्षम्य भन्दै कडा निन्दा गरेको छ। नर्वेका विदेशमन्त्री एस्पेन बार्थ इडेले कूटनीतिक नियोगहरूको सुरक्षा आफ्नो देशका लागि निकै महत्त्वपूर्ण रहेको बताएका छन्। उनले घटनालगत्तै अमेरिकी दूतावासका कार्यवाहक राजदूत एरिक मेयरसँग सम्पर्क गरी सुरक्षाको प्रत्याभूति गराएका छन्।

यता अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले ओस्लोस्थित आफ्नै दूतावासमा भएको घटनाबारे जानकारी प्राप्त भएको र यसबारे स्थानीय अधिकारीहरूसँग मिलेर थप अनुसन्धान भइरहेको पुष्टि गरेका छन्। हालसम्म कुनै पनि समूहले यस विष्फोटको जिम्मेवारी लिएको छैन।

नर्वेली अधिकारीहरूले सुरक्षा व्यवस्था कडा पार्दै दूतावास वरपरको निगरानी बढाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *