स्ट्रेट अफ होर्मुजमा तनाव : अमेरिकी कारबाहीमा इरानी डुङ्गा ध्वस्त, यूएईको तेल डिपोमा आक्रमण

दुबई । अन्तर्राष्ट्रिय तेल व्यापारको मुख्य मार्ग स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीचको तनावले उग्र रूप लिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सातवटा ‘फास्ट बोट’ लाई अमेरिकी सेनाले ध्वस्त पारेको घोषणा गरेका छन्। वासिङ्टनले खाडी क्षेत्रमा फसेका जहाजहरूलाई सुरक्षित बाहिर निकाल्न सुरु गरेको ‘प्रोजेक्ट फ्रिडम’ अन्तर्गत यो कारबाही गरिएको हो।

अमेरिकी सैन्य हेलिकप्टरहरूले ती इरानी डुङ्गाहरूमाथि आक्रमण गरेको बताइएको छ। राष्ट्रपति ट्रम्पले इरानसँग अब यस्ता साना डुङ्गाहरू मात्र बाँकी रहेको भन्दै व्यङ्ग्यसमेत गरेका छन्। यद्यपि, इरानले भने आफ्नो डुङ्गामाथि आक्रमण भएको कुरालाई अस्वीकार गरेको छ।

यसैबीच संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो प्रमुख तेल बन्दरगाह फुजैराहमा इरानले आक्रमण गरेको दाबी गरेको छ। यूएईको विदेश मन्त्रालयका अनुसार एडनोकसँग आबद्ध एक ट्याङ्करमा होर्मुज जलमार्गमा प्रहार गरिएको छ भने दक्षिण कोरियाले पनि आफ्नो एउटा जहाजमा विष्फोट भएको रिपोर्ट गरेको छ।

यूएईका अधिकारीहरूले आफ्नो वायु रक्षा प्रणालीले १२ वटा ब्यालिस्टिक मिसाइल, तीनवटा क्रुज मिसाइल र चारवटा ड्रोनलाई रोकेको जनाएका छन्। तर, एउटा प्रहारका कारण फुजैराह तेल बन्दरगाहमा भीषण आगलागी हुनुका साथै तीन जना घाइते भएका छन्। अबु धाबीले यसलाई ‘खतरनाक उत्तेजना’ भन्दै प्रतिकार गर्ने अधिकार सुरक्षित रहेको चेतावनी दिएको छ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले भने यो घटनाक्रमले राजनीतिक सङ्कटको सैन्य समाधान नरहेको कुरा स्पष्ट पारेको टिप्पणी गरेका छन्। उनले अमेरिकी अभियानलाई लक्षित गर्दै ‘प्रोजेक्ट फ्रिडम वास्तवमा प्रोजेक्ट डेडलक’ भएको बताएका छन्।

इरानी सेनाले आफूहरूले अमेरिकी युद्धपोतमाथि चेतावनी स्वरूप गोली चलाएको दाबी गरे पनि अमेरिकाले त्यसको खण्डन गरेको छ। गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि यो जलमार्ग लगभग बन्द अवस्थामा छ, जसका कारण विश्वको २० प्रतिशत तेल आपूर्ति प्रभावित भएको छ।

तनावका बिच अमेरिकी झण्डावाहक जहाज ‘एलायन्स फेयरफ्याक्स’ भने अमेरिकी सैन्य सुरक्षामा सुरक्षित रूपमा जलमार्गबाट बाहिरिन सफल भएको छ। सिपिङ कम्पनी मेर्सकले आफ्ना चालक दलका सदस्यहरू सुरक्षित रहेको र अमेरिकी सहयोगमा खाडीबाट बाहिर निस्किएको पुष्टि गरेको छ।

राष्ट्रपति ट्रम्पले विश्वभरका देशहरूले आफ्ना तटस्थ जहाजहरूलाई मुक्त गरिदिन अनुरोध गरेपछि यो मानवीय प्रक्रिया सुरु गरिएको र यसमा अवरोध पुगे शक्ति प्रयोग गर्ने चेतावनी दिएका थिए।

यो सैन्य मुठभेडको सिधा असर अन्तर्राष्ट्रिय बजारमा देखिएको छ। फुजैराहमा आक्रमणको खबर सार्वजनिक भएलगत्तै कच्चा तेलको मूल्य प्रति ब्यारेल ११५ डलर नाघेको छ, जुन एकै दिनमा ५ प्रतिशतभन्दा बढीको वृद्धि हो।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री कीर स्टारमरले यूएईको पूर्वाधारमा भएको आक्रमणको कडा निन्दा गर्दै खाडी साझेदारहरूको रक्षामा सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन्। छिमेकी कतारले पनि आक्रमणको भत्र्सना गर्दै जलमार्गलाई बिना सर्त पुनः खोल्न माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *