काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले केन्द्रीय समितिको बैठक निर्वाचन कसरी शान्तिपूर्ण बनाउने भन्ने कुरामा केन्द्रित रहेको बताएका छन्।
बिहीबार नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठकपश्चात उनले देशलाई कसरी माथि उठाउने र सरकारले प्रस्तावित गरेको चुनावलाई कसरी शान्तिपूर्ण बनाउने भन्ने विषयमा बैठक केन्द्रित रहेको बताए।
उनले भने, ‘देशमा एउटा संकटको अवस्था छ यसबाट माथि कसरी उठ्ने भन्ने विषयमा साथिहरुले चिन्ता प्रकट गर्नु भएको छ। त्यसैगरि सरकारले प्रस्तावित गरेको आउदो चुनावलाई कसरी शान्तिपूर्ण बनाउने, शान्तिपूर्ण हुन्छ कि हुँदैन, अझै पनि गाँउ गाँउमा सुरक्षाको प्रत्याभूति छैन। यसबारेमा पनि साथिहरूले कुरा उठाउनु भएको छ।’
यस्तै, उनले समग्रमा निर्वाचनको अवस्था बन्यो भने निर्वाचनमा जानुपर्ने सबैको धारणा रहेको भन्दै यो निर्वाचन राष्ट्रिय निर्वाचन भएको हुनाले यसलाई बढि प्राथमिकता दिने बताए।
उनले भने, ‘समग्रमा निर्वाचनको अवस्था बन्यो भने निर्वाचनमा जानु पर्छ भन्ने कुरा आएको छ। साथै पार्टीमा अधिवेशनको कुरा जुन आएको छ, धेरै जसो साथिहरुले यो नियमित अधिवेशनमा जानु पर्ने कुरा गर्नु भएको छ। यो निर्वाचन राष्ट्रिय निर्वाचन भएको हुनाले राष्ट्रिय निर्वाचनलाई प्राथमिकता दिने कुरा गर्नु भएको छ। त्यसपछि अधिवेशनमा जाने कुरा त जानैपर्छ।’
साथै, उनले वर्तमान सरकार सुशासनसँगै आउदो निर्वाचनलाई शान्तिपूर्ण बनाउने प्रयासमा लाग्नु पर्ने भन्दै त्यसको लागि बाहिर गएको हतियार र कैदीलाई नियन्त्रणमा लिनुपर्ने बताए।
उनले भने, ‘सुशासनको कुरामा सरकारले गर्नुपर्ने काम पनि गरोस र सँगसँगै मुख्य ध्यान निर्वाचनतर्फ पनि लानुपर्छ। त्यसको आधार र वातावरण सिर्जना गर्नुपर्छ। बाहिर गएको हतियारलाई नियन्त्रणमा लिनुपर्यो र कैदीहरुलाई पुन पक्राउ गर्नुपर्यो। समग्र रुपमा जनताको बीचमा जाने वातावरण बनाउनुपर्छ।’
सुशासन सुनिश्चित गर्ने कुरामा सबै प्रतिबद्ध रहेको भन्दै यसमा सरकारसँग विमति हुनुपर्ने कुनै कुरा नभएको पनि उनको भनाई छ।
उनले भने, ‘सुशासन सुनिश्चित गर्ने कुरामा हामी सबै प्रतिबद्ध छौं। हिजो भएको त्रिपक्षिय बैठकमा सहभागि दलहरुले पनि त्यही कुरा गर्नु भएको थियो। जेनजीका प्रतिनिधिहरुले पनि त्यही कुरा गरेका थिए। यसमा विमति हुनुपर्ने कुनै कुरा छैन। हामीले आफैले पनि यो सरकारको कार्यभार भनेको निर्वाचन हो समय पनि धेरै छैन, तपाईंहरू निर्वाचनमा गम्भिर हुनुहुन्छ भने त्यो किसिमको परिस्थिती निर्माण गर्नु, आग्रह, पूर्वाग्रह राख्ने काम नगर्नु भनेका छौं। तर, जसले कानून तोडेको छ र सत्ताको दुरुपयोग गरेको छ। त्यसको छानबिन गर्नको लागि राज्य संरचना छ। त्यसमा हामी कसैले पनि छानबिन गर्नु हुँदैन भनेर भनेका छैनौं। तर, बिना प्रमाण र आधार गर्नु हुँदैन भन्ने मात्र कुरा हो।’
