अध्यक्ष ओलीद्वारा दोहोरो सुविधाको गाडी फिर्ता

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राज्यबाट प्राप्त दोहोरो सुविधाको गाडी सरकारलाई बुझाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बुधबार ओलीले आफूले प्रयोग गर्दै आएको उक्त सवारी साधन फिर्ता गरेका हुन्।

गृह मन्त्रालयले दोहोरो सुविधा अन्तर्गत लिइएका गाडीहरू फिर्ता गर्न औपचारिक पत्राचार गरेपछि ओलीले बा १३ च ६४३७ नम्बरको निजी प्लेटको गाडी फिर्ता गरेका हुन्।

सरकारले पछिल्लो समय पूर्वविशिष्ट पदाधिकारीहरूले कानुन विपरीत वा दोहोरो सुविधाका रूपमा प्रयोग गरिरहेका सरकारी सवारी साधनहरूको यथार्थ विवरण संकलन गरी फिर्ता गराउने प्रक्रिया अघि बढाएको छ।

प्रधानमन्त्री कार्यालयले पूर्वविशिष्टहरूको सवारी साधनबारे छानबिन गरी विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएसँगै मन्त्रालयले गाडी फिर्ताका लागि सक्रियता देखाएको हो। सोही निर्देशनको पालना गर्दै ओलीले आफ्नो तर्फबाट गाडी बुझाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *