हर्माेजमा बम बिछ्याउने जोसुकैलाई गोली हान्न अमेरिकी जलसेनालाई ट्रम्पको आदेश

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिने हर्माेजको सामुद्रिक मार्गमा बारुदी सुरुङ (माइन्स) बिछ्याउने कुनै पनि डुङ्गा वा जहाजलाई देख्नासाथ गोली हान्न अमेरिकी जलसेनालाई कडा आदेश दिएका छन्। पछिल्लो समय हर्माेज जलडमरूमध्यमा तनाव बढ्दै गएपछि राष्ट्रपति ट्रम्पले यस्तो कडा कदम चालेका हुन्।

सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले हर्माेजको जल क्षेत्रमा बारुदी सुरुङ बिछ्याउने प्रयास गर्ने साना वा ठूला कुनै पनि डुङ्गालाई नहिचकिचाई सिधै प्रहार गरी नष्ट गर्न अमेरिकी जलसेनालाई निर्देशन दिएको बताएका हुन्।

हर्माेजको जल क्षेत्रमा अहिले पनि अमेरिकाले आफ्नो तर्फबाट माइन स्वीपर (सुरुङ हटाउने) अभियान सञ्चालन गरिरहेको छ। राष्ट्रपति ट्रम्पले सो कार्यलाई तत्काल तीन गुणाले बढाउन समेत आदेश दिएका छन्।

हर्माेज जलडमरूमध्य विश्वको तेल आपूर्तिको प्रमुख मार्ग मानिन्छ र यस क्षेत्रमा पछिल्लो केही समययता इरान र अमेरिकाबीच तनाव चुलिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले यस जल क्षेत्रमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गर्दै अमेरिकी नौसेनाको अनुमतिबिना कुनै पनि जहाज आउजाउ गर्न नसक्ने स्पष्ट पारेका छन्।

यद्यपि, दुई देशबीच केही समयअघि युद्धविरामको सम्झौता भएको भए पनि पछिल्ला घटनाक्रमले पुनः द्वन्द्वको जोखिम बढाएको छ। हर्माेज क्षेत्रमा बिछ्याइएका सुरुङहरू हटाउन लामो समय लाग्न सक्ने अमेरिकी रक्षा मन्त्रालयको भनाइबीच राष्ट्रपति ट्रम्पको यो कडा आदेशले क्षेत्रगत सुरक्षाको अवस्थालाई थप पेचिलो बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *