भदौ २४ गतेको घटनाको छानबिन गर्न समय पुगेन भन्नु आश्चर्यजनक : भीष्मराज आङ्देम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले भदौ २३ गतेको घटनाको छानबिनजस्तै भदौ २४ गतेको घटनाको छानबिन हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै आङ्देम्बेले सरकारले गठन गरेको गौरीबहादुर कार्कीको नेतृत्वको छानबिन आयोगले भदौ २४ गतेको घटनाबारे पटक–पटक समय थप्दा पनि छानबिन गर्न समय भएन भन्ने आश्चर्यको विषय भएको बताए ।

‘जसरी भदौ २३ गतेको घटनाको छानबिन भयो, त्यसैगरी भदौ २४ गतेको घटनाको पनि छानबिन हुनुपर्ने हो,’ आङदेम्बेले भने, ‘तर, सरकारले बनाएको आयोगले पटक–पटक समय थप्दा पनि समय भएन भन्यो, त्यो किन भयो ।’

उनले नेपाली कांग्रेस भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने पक्षमा रहेको बताए । ‘दुई दिनको घटनाको निष्पक्ष छानबिन हुनुपर्छ,’ उनले भने, ‘दोषी उम्किन हुन्न, निर्दोष फस्न हुन्न भन्ने पक्षमा कांग्रेस हिजो पनि थियो । आज पनि छ । भोलि पनि रहनेछ ।’

उनले समयको माग अनुरूप कांग्रेसले विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गरे पनि समय कम भएकाले त्यो जनतालाई बुझाउन नसकेको बताए ।

अब देशलाई खरानी बनाउन कोही अगाडि बढ्न नसक्ने तरिकाले अगाडि बढ्नुपर्ने उनले बताए । सरकारलाई राम्रा काममा साथ र नराम्रा काममा खबरदारी गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *