जनताले सरकार मात्र होइन, शासन सञ्चालनको संस्कृतिमै परिवर्तन खोजेका छन् : केसी

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नेपाली जनताले केवल सरकारको अनुहार परिवर्तन मात्र नभई शासन सञ्चालनको शैली, संस्कृति र संस्कारमै आमूल परिवर्तनको अपेक्षा गरिरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार र यो सदनप्रति आम नागरिकको ठूलो आशा, विश्वास र उत्सुकता रहेको उल्लेख गरेका हुन् ।

ताजा जनादेशबाट गठित यो संसदले जनताको भरोसालाई परिणाममुखी कार्यमार्फत सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । बैठकमा बोल्दै केसीले मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको १०० बुँदे शासन सुधारको कार्यसूची स्वागतयोग्य रहेको बताए ।

यसको सफल कार्यान्वयनका लागि समयको सही व्यवस्थापन, पूर्ण समर्पण र निष्पक्षता अनिवार्य रहेको उनको भनाइ छ । उनले मुलुकको संविधानले परिकल्पना गरेको समावेशी, समानतामूलक र जनसर्वोच्चताको भावनाप्रति सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे । राष्ट्रिय आवश्यकताहरू पूरा गर्न अब विभाजनभन्दा एकता, उत्तेजनाभन्दा चेतना र आवेगभन्दा विवेकको प्रयोग हुनुपर्नेमा उनले विशेष जोड दिए ।

विगतमा पटक–पटक भएको प्रतिनिधि सभा विघटन र त्यसबाट उत्पन्न राजनीतिक अस्थिरताले राष्ट्रिय जीवनका हरेक क्षेत्रमा गम्भीर असर पारेको केसीले स्मरण गराए । संवैधानिक संस्थाहरूको निष्पक्षता र स्वायत्ततामा आएको ह्रासप्रति चिन्ता व्यक्त गर्दै उनले यस्ता प्रवृत्तिमा अब पूर्णविराम लाग्नुपर्ने बताए । संसदीय अभ्यासमा देखिएका कमजोरीले नीति निर्माण र सरकारलाई उत्तरदायी बनाउने प्रक्रियामा समेत अवरोध पुर्‍याएको उल्लेख गर्दै उनले अब विकास, अर्थतन्त्र र सुशासनसँग सम्बन्धित विधेयकहरूलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए ।

राजनीतिक परिवर्तन पटक–पटक आए पनि पद्धति अनुसारको प्रवृत्तिमा सुधार आउन नसकेको भन्दै उनले अब नयाँ सरकारले नयाँ कार्यशैली देखाउनुपर्ने बताए । पुराना विचार र व्यवहारबाट दिक्क भएका जनतालाई नयाँ संस्कार र संस्कृतिको अनुभूति गराउनु नै यो सदनको मुख्य दायित्व भएको उनको तर्क छ ।

संसद्लाई सभ्य र मर्यादित बनाउन सबै सदस्यहरूले सभ्य भाषामा आफ्ना अभिव्यक्ति राख्नुपर्ने आग्रह गर्दै उनले जनआस्था र आशालाई व्यावहारिक नीति र योजनामार्फत नतिजामा बदल्न आह्वान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *