त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक जीपहरूको छत (हुट) हटाउने अभियान सञ्चालन गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण दुर्घटनाको जोखिम बढ्ने हुँदा हटाउन थालेका हौँ”, उनले भने ।
पहाडी क्षेत्रका अधिकांश सडक एकतर्फी र कच्ची रहेको अवस्थामा सवारीको छतमा समेत यात्रु राखेर हिँडाउने प्रवृत्ति जोखिमपूर्ण भएकाले यसलाई नियन्त्रण गर्न आवश्यक रहेको उनले उल्लेख गरे । अभियानअन्तर्गत पछिल्लो दुई सातामा करिब तीन दर्जन यात्रुवाहक जीपबाट हुट हटाइएको छ । दलदले, चोरमारा र अरुणखोला क्षेत्रबाट पहाडी क्षेत्रमा चल्ने जीपहरूले छतमा यात्रु बोक्ने गरेको पाइएको छ । केही यातायात व्यवसायीहरूले पनि ट्राफिक प्रहरीको अभियानलाई साथ दिँदै स्वेच्छाले हुट हटाउन थालेका छन् ।
क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारीको माथिल्लो भागमा अतिरिक्त सिट राख्ने तथा ओभरलोड गर्ने प्रवृत्ति बढ्दै गएपछि ट्राफिक प्रहरीले निगरानी कडा बनाएको जनाएको छ । विशेषगरी दुर्गम तथा पहाडी सडकमा यस्ता गतिविधिले दुर्घटनाको जोखिम उच्च हुने भएकाले नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको हो ।
ट्राफिक प्रहरीको सक्रियतामा जीपहरूको हुट हटाउने काम भइरहेको र पुनः हुट राखेमा कानुनअनुसार कारबाही गरिने ट्राफिक प्रमुख बर्तौलाले बताए । बढी यात्रु बोक्दा सवारीको सन्तुलन बिग्रने, ब्रेक प्रणालीमा समस्या आउने तथा दुर्घटनाको सम्भावना बढ्ने भएकाले अभियानलाई निरन्तरता दिइने उनले जानकारी दिए ।
विगतमा पहाडी क्षेत्रमा सवारी दुर्घटनाबाट ठूलो मानवीय क्षति हुने गरेको सन्दर्भमा समेत हुट हटाउने तथा अत्यधिक यात्रु बोक्ने प्रवृत्ति निरुत्साहित गर्न अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
साथै, सवारी चालक र यात्रुले पनि जोखिमपूर्ण यात्रा नगर्न सचेत हुनुपर्ने उनले बताए । पहाडी क्षेत्रमा चल्ने यात्रुवाहक जीपहरूको निगरानीका लागि कुमसोतसहित पहाडी क्षेत्र प्रवेश गर्ने मुख्य सडकहरूमा निगरानी बढाइएको ट्राफिक प्रमुख बर्तौलाले बताए ।
ट्राफिक प्रहरीको निगरानी, अभियान र नियम उल्लङ्घन हुँदा गरिने कारबाही चालक तथा यात्रुको सुरक्षाकै लागि भएकाले यसमा सहयोग गर्न सबै सरोकारवालाई कार्यालय प्रमुख बर्तौलाले अनुरोध गरेका छन् । रासस
