राप्रपाले सोध्यो २ नेतालाई स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को अनुशासन समितिले दुई जना नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

पार्टीकी उपाध्यक्षसमेत रहेकी अनुशासन समिति अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बुधबार बसेको अनुशासन समिति बैठकले केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चाहना अधिकारी लाई ७२ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

उनीहरूमाथि प्रतिनिधि सभा निर्वाचनको मुखमा पार्टीको समानुपातिक सूचीको खिलापमा लागेको र चुनाव नजिकिएका बेला पार्टी केन्द्रीय कार्यालयमा धर्ना बसेर भ्रमु पैदा गरेको आरोप छ।

उनीहरूले बागमती प्रदेश सांसद कुमारी मोक्तान, महिला संगठनकी अन्जु सुवेदीसहित ६ जना नेताहरूमाथि प्रहरी तथा प्रशासनमा उजुरी दिएको पाइएकोसमेत अनुशासन समितिले जनाएको छ।

समानुपातिक सूचीमा देखिएको परिवारवाद र अवसरवादको विरोध गर्दै आफूहरू अनसन बसेको उनीहरूको भनाइ थियो। राप्रपाले निर्वाचन आयोगमा बुझाएको सूचीमा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामा तथा नेता खुश्बु ओली लगायतका नाम समावेश गरिएकोमा असन्तुष्टि जनाउँदै महिला नेताहरूले अनसन बसेका थिए।

अहिले लामा र ओली दुवै समानुपातिकतर्फबाट राप्रपा सांसद छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *