चौथो गोरखा–जितगढी पदयात्रा आइपुग्यो पाल्पा

तानसेन (पाल्पा)। चौथो गोरखा–जितगढी पदयात्रामा सहभागी नेपाली सेनाको टोली पाल्पा आइपुगेको छ। सो टोली गोरखा, तनहुँ, स्याङ्जा हुँदै आज पाल्पा आइपुगेको हो।

टोलीले चैत २७ गतेदेखि पदयात्रा सुरु गरेको थियो। पदयात्रामा आएको फौजले पाल्पामा तैनाथ फौजलाई पाल्पा र स्याङ्जाको सिमाना केलादीघाटमा झण्डा हस्तान्तरण गरेको छ। उक्त टोलीलाई आज बिहान भव्य स्वागत गरिएको छ। स्वागतमा तनहुँबाट आएको सेनाको टोलीले पाल्पाको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापालाई झण्डा हस्तान्तरण र २ नम्बर राज दल गणका प्रमुख सेनानी अनुप थापाले २२ नम्वर गणका बाहिनी पति विमलराज शर्मालाई बलेको दियो टर्च हस्तान्तरण गरेका थिए। टोलीलाई पाल्पास्थित नेपाली सेनाको दि फेमस महिन्द्र दल गणले केलादीमा स्वागत गरेको हो।

ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्गलगायतका धरोहरको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने तथा सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यले सेनाले पदयात्रा गरिरहेको छ। उक्त पदयात्राका क्रममा सेनाको टोली अहिले पाल्पा आइपुगेको हो। यात्राले ऐतिहासिक गढी, किल्ला, दरबार तथा एकीकरणको क्रममा प्रयोग भएका मार्गहरू पहिचान गरी, संरक्षण, सम्वद्र्धन र विकास गर्न सघाउ पुग्ने प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले विश्वास व्यक्त गर्नुभयो। नेपाली सेनाको आयोजना र स्थानीय तहहरूको सहयोगमा सेना पदयात्रामा निस्किएको हो।

उक्त टोलीको प्रतिनिधिमण्डल र पाल्पास्थित ‘दि फेमस महिन्द्र दल गण’ले पाल्पाको गढी तथा किल्लासम्मको यात्रा गर्ने छन्। उक्त टोलीले पहिलो दिन केलादीघाट हुँदै विरकोट, पूर्वखोला ३५ किलोमिटर यात्रा गर्दै छ। वैशाख ३ गते विरकोट, पूर्वखोलादेखि गोठादी, माथागढी, ३९ किलोमिटर टोलीले पदयात्रा गर्ने पाल्पास्थित ‘दि फेमस महिन्द्र दल गण’ कार्यवाहक सेनानी डिलबहादुर राना मगरले जानकारी दिए। उनका अनुसार वैशाख ४ गते गोठादी, माथागढीदेखि प्रभास, तानसेन ३५ किलोमिटर यात्रा गर्ने छ।

वैशाख ५ गते प्रभास–तानसेन काजीपौवा हुँदै प्रभास १७ किलोमिटर यात्रा गर्ने छ। वैशाख ६ गते प्रभासदेखि दोभान ३२ किलोमिटर यात्रा हुने छ। वैशाख ७ गते नेपाली सेनाले अङ्ग्रेज सेनालाई पराजित गरी विजय उत्सव गरेको दिन पदयात्रा टोलीले दोभान नुवाकोटगढी देउरालीमा पुगी बुटवलको टोलीलाई झण्डा हस्तान्तरण गरी जितगढी विजय उत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ।

तत्कालीन समयमा राज्य एकीकरणको क्रममा प्रयोग भएका सम्पदा गढी, किल्ला, मार्ग देखि नेपाल–अङ्ग्रेज युद्ध र नेपाली सेनाको विरासतसँग जोडिएका ऐतिहासिक दस्ताबेज, महिमालाई नयाँ पुस्तामाझ पुनर्ताजगी गराउन पदयात्राले सहयोग गर्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *