रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको बधाई, दुई देशबिच सम्बन्ध विस्तारको प्रतिबद्धता

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपालको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई संघीय प्रतिनिधि सभाको निर्वाचनमा प्राप्त विजयका लागि बधाई दिएको छ ।

विभागले दुई देशबिचको विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

विभागले रास्वपालाई पठाएको सन्देशमा चीन र नेपाललाई पहाड र नदीले जोडेको उल्लेख गर्दै दुई देशबिच परम्परागत मित्रताको लामो इतिहास रहेको स्मरण गराएको छ । दुवै देशका नेताहरूको रणनीतिक नेतृत्वमा चीन र नेपालले विकास र समृद्धितर्फ उन्मुख पुस्ता–पुस्तासम्म चल्ने मैत्रीपूर्ण रणनीतिक साझेदारी सम्बन्ध स्थापना गरेको विभागले जनाएको छ ।

विभागले वर्तमान नयाँ परिस्थितिमा चीन नेपालसँग मिलेर राजनीतिक आपसी विश्वासलाई अझ गहिरो बनाउन इच्छुक रहेको बताएको छ । उच्च गुणस्तरको ‘बेल्ट एण्ड रोड’ (बीआरआई) सहयोगलाई अगाडि बढाउन, अझ नजिकको चीन–नेपाल साझा भविष्यको समुदाय निर्माण गर्न तथा दुवै देश र जनतालाई लाभ पुर्‍याउन चीन प्रतिबद्ध रहेको सन्देशमा उल्लेख छ ।

सीपीसीले रास्वपासँग विगत लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध कायम राखेको पनि जनाएको छ । विभागले रास्वपाका अध्यक्ष रवि लामिछाने र महामहिम बालेन शाहको नेतृत्वमा रास्वपाले चीनसँग मैत्रीपूर्ण नीतिहरू निरन्तर कायम राख्ने, परम्परागत मित्रतालाई प्रवर्द्धन गर्ने र विभिन्न क्षेत्रमा आदानप्रदान तथा सहयोगलाई गहिरो बनाउन नयाँ योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

सन्देशमा थप भनिएको छ, ‘चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको आदानप्रदानलाई निरन्तर सुदृढ गर्न, आदानप्रदान मार्फत आपसी सिकाइलाई गहिरो बनाउन र दुई देशबिचको सम्बन्धको दिगो, स्वस्थ र स्थिर विकासलाई संयुक्त रूपमा अगाडि बढाउन सक्रिय भूमिका खेल्न इच्छुक रहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *