नेपाल टेलिकमको नाफामा सुधार: तेस्रो त्रैमासिकसम्म सवा ६ अर्ब खुद मुनाफा

काठमाडाैं। नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा आफ्नो वित्तीय सूचकहरूमा सकारात्मक सुधार गरेको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा खुद मुनाफामा उल्लेख्य वृद्धि देखिएको छ। आय र मुनाफाको अवस्था
चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको कुल सञ्चालन आय २५ अर्ब ९२ करोड ९६ लाख रुपैयाँ पुगेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४२ प्रतिशत अर्थात् ६१ करोड २० लाख रुपैयाँले बढी हो। त्यसैगरी, कम्पनीको कुल आय पनि १.४९ प्रतिशतले बढेर २८ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख छ।

मुनाफातर्फ कम्पनीले यस वर्ष ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको तुलनामा यो नाफा ५६ करोड २४ लाख रुपैयाँ अर्थात् ९.८५ प्रतिशतले बढी हो । नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिकीकरण गरिएको) ४६.४७ रुपैयाँ पुगेको छ, जुन गत वर्ष ४२.३ रुपैयाँ मात्र थियो।

कम्पनीको वित्तीय विवरणअनुसार जीएसएम (GSM) सेवातर्फको राजस्वमा ५७ करोड ७४ लाख रुपैयाँले वृद्धि भएको छ। यस्तै, ह्रासकट्टी खर्चमा ३८ करोड ६९ लाख रुपैयाँले कमी आउनाले पनि नाफा बढाउन सहयोग पुगेको देखिन्छ।

यद्यपि, बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर निरन्तर घट्दै गएका कारण कम्पनीको ब्याज आम्दानीमा भने कमी आएको छ। गत वर्षको तुलनामा ब्याज आय २०.५७ प्रतिशत अर्थात् करिब ५७ करोड ६६ लाख रुपैयाँले घटेको कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *