ढोरपाटन (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास (होम–स्टे) खासगरी हिमशृङ्खाला अवलोकन गर्न र ग्रामीण जीवनशैलीको अनुभूति गर्न पर्यटक भकुण्डे पुग्ने गर्छन् ।
बागलुङ नगरपालिका–१० मा पर्ने उक्त घरबासमा गत जेठ अन्तिम सातासम्म आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै थियो तर वर्षाका कारण सडक बिग्रिँदा यति बेला ती घरबास सुनसान भएका छन् ।
घरबासमा पाहुना आउन छोडेपछि स्थानीय बारीको काममा व्यस्त छन् । भकुण्डे गाउँका स्थानीयले १५ घरमा घरबास सञ्चालन गरेका छन् ।
हिउँदको समयमा सडक यात्रा सहज हुँदा पर्यटकको चहलपहल बढ्ने तर बर्खाको करिब चार महिना ठप्प हुने घरबास सञ्चालक यमबहादुर थापाले बताए । व्यावसायिक रूपमा सञ्चालन गरेको घरबासमा बाह्रै महिना पाहुना नआउँदा उत्पादन खेर जाने गरेको उनको भनाइ छ ।
अब असोज कात्तिकतिर मात्रै पाहुनाको चहलपहल हुने थापाले बताउनुभयो । यतिबेला घरबास सञ्चालक कोदो रोप्ने, आलु खन्ने काममा लागेको उनको भनाइ छ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि नजिकै रहेको भकुण्डेमा गाडीमा एक घण्टा र पैदलयात्रा गर्दा करिब साढे एक घण्टामा पुग्न सकिन्छ ।
काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबास पनि सुनसान बनेको छ । असार पहिलो सातादेखि पाउना आउन छोडेको सञ्चालक गोपाल श्रीसले बताए । अधिकांश पर्यटक सहरी क्षेत्रबाट आउने भन्दै बागलुङ बजारदेखि गाउँसम्म पुग्ने सडक अव्यवस्थित हुँदा पाहुन आउन नसकेको उनको भनाइ छ । कात्तिकदेखि जेठसम्म पाहुनाको चाप भई राखे पनि बर्खाको करिब चार महिना बन्द हुने श्रीसले सुनाए ।
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले ग्रामीण क्षेत्रसँग जोडिएका सडकलाई व्यवस्थित गरी बाह्रै महिना सहज रुपमा सञ्चालन गर्ने गरी काम गरिरहेको बताए । गाउँपालिकाले घरबासलाई प्रवर्द्धन गरी पर्यटन क्षेत्रका विकास गर्ने उनको भनाइ छ । पालिकाभित्रका अझै कतिपय सडक अप्ठ्यारा रहेको हुँदा क्रमैसँग सुधार गर्दै जाने अध्यक्ष थापाले बताए ।
