इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट रहेको अमेरिकी मिडियाले रिपोर्ट गरेका छन्।

प्रस्तावले होर्मुज खोल्ने र इरानको बन्दरगाहमा अमेरिकी सैन्य नाकाबन्दी अन्य गर्ने प्रयासलाई प्राथमिकतामा राखी आणविक विषयलाई समावेश नगरेको ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै मिडियाले रिपोर्ट गरेका छन्।

राष्ट्रपति ट्रम्पले सोमबार ह्वाइट हाउसमा भएको बैठकमा आफ्ना शीर्षअधिकारीसँग इरानको प्रस्तावबारे छलफल गरेको जनाइएको छ। ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्ने सम्भावना नरहेको बैठकका सहभागीलाई उदृत गर्दै सिएनएनले जनाएको छ।

अधिकारीलाई उदृत गर्दै द न्यूयोर्क टाइम्सले इरानी प्रस्ताव जस्ताको त्यस्तै स्वीकार गर्दा ट्रम्पले बारम्बार भन्दै आएको इरानले आणविक हतियार राख्न नहुने विषय ओझेलमा पर्ने जनाएको छ।

फक्स न्यूजसँगको अन्तर्वार्तामा, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको नयाँ प्रस्ताव समग्रमा राम्रै रहेता पनि तेहरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुपर्ने कुरामा जोड दिए।

यस अघि ट्रम्पले इरानसँगको कुनै पनि शान्ति सम्झौता तोकिएको समयमा हुने कुरामा जोड दिँदै इरानसँगको युद्ध समाप्त गर्न युद्धविराम वा वार्तामा कुनै किसिमको दबाब नरहेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *