अयोध्या, उत्तर प्रदेश, भारत । जेष्ठ १८ गतेदेखि भारतको ऐतिहासिक तीर्थक्षेत्र श्रीराम जन्मभूमि अयोध्यास्थित मनिराम दास छावनीमा सुरु भएको श्रीरामकथा महोत्सव तथा हिमालयन सिद्ध महायोग साधना प्रशिक्षण कार्यक्रमले नेपाल-भारत सम्बन्धमा आध्यात्मिक पुनर्जागरणको ऐतिहासिक संकेत दिएको छ।
कार्यक्रमका प्रमुख वाचक र आध्यात्मिक केन्द्रबिन्दुका रूपमा नेपालका विशिष्ट सन्त जगद्गुरु श्रीकृष्णदासजी महाराज (महायोगी सिद्धबाबा) को उपस्थितिले भारतभरिका नागरिक, साधु, सन्त र राजनैतिक नेतृत्वमा नेपालप्रतिको सम्मान र आध्यात्मिक चासो अझ प्रगाढ बनाएको छ ।
भारतका विभिन्न मठका मठाधीश, साधु-सन्तहरूको उल्लेख्य उपस्थिति रहेको यस कार्यक्रमलाई भारतको केन्द्र सरकार, उत्तर प्रदेश राज्य सरकार र अयोध्या नगरपालिकाले उच्च प्राथमिकता दिँदै विशेष सुरक्षा र व्यवस्थापकीय व्यवस्थाहरू मिलाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री योगी आदित्यनाथको विशेष चासो र समर्थनले पनि कार्यक्रमप्रति भारत सरकारको दृष्टिकोणलाई स्पष्ट रुपमा बुझ्न सकिन्छ ।
महायोगी सिद्धबाबाबाट सञ्चालित ‘सुरत शब्दयोग ध्यान-साधना’ प्रशिक्षणमा भारतका विशिष्ट व्यक्तित्वहरूदेखि लिएर नेपाल, अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलियासम्मबाट आएका नेपालीहरूको समेत उल्लेख्य सहभागिता रहेको छ ।
सिद्धबाबाको प्रमुख वाचकत्वमा आयोजित कार्यक्रमलाई भारतले दिएको सम्मानले नेपालको आध्यात्मिक महत्वलाई पुनः स्थापित भएको अनुभूति गराएको सहभागीहरुले बताएका छन् । विशेष गरि नेपालका साधुलाई प्रमुख आतिथ्यता दिनु र सवारीका लागि रथयात्रामा नगर परिक्रमा गराइनु नेपाल-भारतबीचको धार्मिक आत्मीयताको प्रतीक बनेको मान्न सकिन्छ । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिवहरू, सुरक्षा निकायका पूर्व प्रमुख, वरिष्ठ अधिवक्ता, प्राध्यापक लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता नेपालीको जनप्रतिनिधित्वलाई सशक्त बनाउने पक्षका रुपमा लिन सकिन्छ ।
कार्यक्रममा सहभागी सशस्त्र प्रहरी बल नेपालका पूर्व प्रमुख शैलेन्द्र कुमार श्रेष्ठले महायोगी सिद्धबाबाले दिनुभएको आध्यात्मिक प्रशिक्षण र नेपालप्रति अयोध्यानगरीमा देखाइएको सम्मानले अब नेपाललाई धार्मिक पर्यटनका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताउनुभयो । कार्यक्रममा तारक ब्रह्मपीठ चतराधाम समितिका अध्यक्ष बाबुराज ओझाले भन्नुभयो, “नेपालबाट यति विशिष्ट आध्यात्मिक प्रतिनिधित्व हुनु स्वयं नेपाली जनता र देशका लागि गर्वको विषय हो।” कार्यक्रमको मञ्चबाटै समितिका उपाध्यक्ष गोविन्द कौशिकले नेपाल धार्मिक-आध्यात्मिक केन्द्र रहेको स्पष्ट घोषणा गर्नुभयो ।
कार्यक्रमलाई दूरदर्शन, सत्सङ, लगायतका भारतीय टेलिभिजन च्यानलहरूले प्रत्यक्ष प्रशारण गरिरहेका छन् । यसका साथै भारतीय राष्ट्रिय पत्रपत्रिकाहरूमा प्राथमिकताका साथ महायोगी सिद्धबाबाको कथा वाचन र प्रशिक्षणसम्बन्धी समाचार रिपोर्टहरू छापिएका छन्।
धार्मिक कूटनीति र सांस्कृतिक सम्बन्धहरु बलियो बनाउँदै नेपालको अन्तर्राष्ट्रिय हैसियत बढाउन यस्ता पहलहरू महत्वपूर्ण साबित हुन सक्छन् । यस्ता खालका आयोजनालाई नेपाल सरकारले भारतसँगको सम्बन्ध सुधार गर्ने सेतुको रूपमा प्रयोग गर्न सक्ने अवसर रहेको विज्ञहरू बताउँछन् ।
नेपालको आध्यात्मिक सन्तद्वारा भारतको पवित्र भूमिमा यस्तो उच्चस्तरीय सम्मान र सहभागिता हुनु केवल एक धार्मिक कार्यक्रम मात्र होइन, नेपाल-भारत सम्बन्धमा नयाँ युगको शुभारम्भ हो । महायोगी सिद्धबाबाले फैलाइरहनुभएको साधना, सेवा र चरित्र निर्माणको शिक्षाले युवा पुस्तामा चेतना र आत्मविश्वास जगाउने अपेक्षा गरिएको छ । नेपालले यस्ता अवसरलाई आध्यात्मिक कूटनीति र पर्यटन प्रवर्द्धनको रणनीतिमा रूपान्तरण गर्न सक्यो भने, देशको अन्तर्राष्ट्रिय पहिचान थप सुदृढ हुने निश्चित छ ।