काठमाडौं। पश्चिम एसिया र खाडी क्षेत्रमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिका कारण केही समयदेखि बन्द रहेको वैदेशिक रोजगारीको श्रम स्वीकृति प्रक्रिया अब पुनः सुरु भएको छ।
सरकारले खाडीसहित पश्चिम एसियाका १२ वटा मुलुकका लागि संस्थागत र व्यक्तिगत दुवै प्रकारको श्रम स्वीकृति खुलाउने निर्णय गरेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै सो क्षेत्रमा कार्यरत श्रमिकहरूको सुरक्षा अवस्था र क्षेत्रीय तनावमा आएको सुधारलाई मध्यनजर गर्दै श्रम स्वीकृति पुनः सुरु गरिएको जनाएको छ।
कुन-कुन देशका लागि खुल्यो?
सरकारको यो निर्णयसँगै अब निम्न १२ देशका लागि श्रम स्वीकृति (नयाँ तथा पुनः श्रम स्वीकृति) प्रक्रिया सुरु भएको छ।
साउदी अरब
संयुक्त अरब इमिरेट्स (युएई)
कतार
कुवेत
बहराइन
ओमान
इराक
यमन
जोर्डन
लेबनान
टर्की
इजरायल
अमेरिका-इरान तनावका कारण पश्चिम एसियामा सुरक्षा जोखिम बढेको भन्दै सरकारले गत फागुन १७ गते (१ मार्च २०२६) देखि यी देशहरूमा श्रम स्वीकृति स्थगन गरेको थियो। यसअघि केही देशहरूमा आंशिक रूपमा खुला गरिए पनि पूर्ण रूपमा प्रक्रिया रोकिएको थियो।
परराष्ट्र मन्त्रालयअन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ ले पछिल्लो समय क्षेत्रीय अवस्थामा केही सुधार आएको र द्वन्द्वरत पक्षबीचको परिस्थितिलाई विश्लेषण गर्दै श्रम स्वीकृति खुलाउन सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णयबाट यो कदम चालिएको हो।
लामो समयदेखि भिसा प्रक्रिया पूरा भएर पनि उड्न नपाएका हजारौँ नेपाली श्रमिकहरूका लागि यो निर्णयले ठूलो राहत मिलेको छ। विशेष गरी रोजगारीका लागि कतार, साउदी अरब, युएई र कुवेत जाने तयारीमा रहेका ठूलो संख्याका नेपालीहरू अब आफ्नो गन्तव्यमा जान सक्ने बाटो खुलेको छ।
श्रम विभागले सम्बन्धित म्यानपावर व्यवसायी र वैदेशिक रोजगारीमा जाने प्रक्रियामा रहेका श्रमिकहरूलाई आवश्यक कागजातसहित विभागका कार्यालयहरूमा सम्पर्क गर्न आग्रह गरेको छ। यद्यपि, सम्बन्धित क्षेत्रको सुरक्षा अवस्थाबारे सचेत रहन र मन्त्रालयको पछिल्लो अपडेटलाई नियमित हेर्न समेत मन्त्रालयले अनुरोध गरेको छ।
लामो समयको अन्योलपछि श्रम स्वीकृति खुल्दा वैदेशिक रोजगारीको पर्खाइमा रहेका श्रमिक तथा म्यानपावर व्यवसायीहरूमा केही राहत महसुस भएको छ।
