काठमाडाैं। प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद निस्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहको निरन्तरको अनुपस्थितिलाई लिएर कडा आपत्ति जनाएका छन्।
आकस्मिक समयमा बोल्दै उनले संसद्मा पटक-पटक प्रधानमन्त्रीको उपस्थिति खोजिए पनि आजको महत्वपूर्ण घडीमा समेत उनी उपस्थित नहुनु दुःखद भएको बताए।
विशेषगरी सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेका बेला प्रधानमन्त्री संसद् छलेर बस्नुले संसद्को अपमान भएको उनको तर्क थियो।
सांसद राईले संसद्को गरिमा र प्रतिष्ठा जोगाउने मुख्य जिम्मेवारी सभामुखको भएको स्मरण गराउँदै यस विषयमा सभामुखको गम्भीर ध्यानाकर्षण गराए।
उनले सदनको इज्जत कायम राख्न सभामुखले खुट्टा कमाउन नहुने र यदि सभामुखले नै सभाको गरिमा जोगाउन नसके कसैले पनि संसद्को सम्मान बढाउन नसक्ने जिकिर गरे। आफ्नै सरकारले ल्याएको नीति तथा कार्यक्रमको जवाफ दिन संसद् नआउनुले संसदीय व्यवस्थाकै उपहास गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
सम्बोधनको अन्त्यमा सांसद राईले सभामुखमार्फत प्रधानमन्त्रीलाई तत्काल संसद्मा उपस्थित गराउन माग गरे।
जनप्रतिनिधिहरूले उठाएका सार्वजनिक सरोकारका प्रश्नहरूको जवाफ दिनु प्रधानमन्त्रीको दायित्व भएको उल्लेख गर्दै उनले सरकार प्रमुखलाई सदनप्रति उत्तरदायी बनाउन सभामुखले ठोस कदम चाल्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीको अनुपस्थितिका कारण आजको बैठकमा केही बेर सांसदहरूबीच बहस र अन्योलको स्थिति समेत सिर्जना भएको थियो।
