युवराज लामा
चलचित्र कर्मी (निजगढ)
२० वैशाख २०८३
१. जन्म
रामबहादुर बम्जनको जन्म रतनपुर, निजगढ–१२ मा भएको हो। उहाँकी आमा मायादेवी तामाङ हुन्।
२. बाल्यकाल बाल्यकालदेखि नै उहाँ अनुशासित हुनुहुन्थ्यो। उहाँकी आमाका अनुसार, उहाँलाई सबैभन्दा पहिले खाना पस्केर दिएपछि मात्र उहाँ खानुहुन्थ्यो, नत्र खानुहुन्नथ्यो — यही विशेषता उहाँमा देखिन्थ्यो।
३. शिक्षा उहाँले शाक्य गुम्बामा बौद्ध शिक्षा अध्ययन गर्नुभएको थियो र सामान्य विद्यालय तहसम्म अध्ययन गर्नुभएको थियो।
४. ध्यान र “लिटिल बुद्ध” को चर्चा मे २००५ मा एकदिन अचानक हराएर रतनपुर नजिकैको जंगलमा ध्यानरत अवस्थामा भेटिनुभयो। निराहार तपस्यामा बसेपछि नेपालसहित विश्वभरका सञ्चारमाध्यमहरूले उहाँलाई “लिटिल बुद्ध” भनेर समाचार प्रसारण गरे। BBC र Discovery Channel लगायतका माध्यमहरूले लामो समयसम्म क्यामेरामा कैद गर्दा पनि कुनै हलचल नदेखिएपछि उहाँको चर्चा अझ बढ्यो। यसैबीच आगोसँग सम्बन्धित केही चमत्कारिक साधनाका घटनाहरू पनि सार्वजनिक भए।
५. हराउने घटना पछि अचानक उहाँ रतनपुरको तपोस्थलबाट गायब हुनुभयो, जसले ठूलो चर्चा र खोजी अभियान चलायो, तर कतै फेला नपरेपछि भक्तजनहरू निराश भए र विभिन्न अड्कलबाजीहरू गरियो।
६. हलखोरियामा पुनः भेट केही समयपछि हलखोरिया घना जंगलमा एक गोठालाले उहाँलाई तरबारसहित देखेपछि पुनः उहाँ हलखोरियामा ठूलो पीपलको रूखमुनि तपस्या गर्न थाल्नुभयो।
७. प्रवचन र चर्चा यस अवधिमा समय–समयमा प्रवचन कार्यक्रमहरू भए। विभिन्न बौद्ध भिक्षुहरू उहाँको दर्शन गर्न र प्रवचन गराउन आउँथे, जसले उहाँलाई चर्चामा राखिरह्यो।
८. विवादहरू हलखोरियामा तपस्याको क्रममा संरक्षण समितिका कारण केही विवादहरू पनि भए, जस्तै गढीमाई बलि प्रथा रोक्नुपर्ने विषय, रातो पासपोर्टको माग आन्दोलन, समितिका एक सदस्यद्वारा इटालियन महिलामाथि दुर्व्यवहारको आरोप, साथै १२ जना व्यक्तिद्वारा दुर्व्यवहार भएपछि तपस्वीले एक्लैले प्रतिकार गरेको घटना आदि चर्चामा रहे।
९. दर्शनार्थीहरूको आगमन यसबीच विश्वभरबाट उहाँलाई हेर्न र दर्शन गर्न मानिसहरू आइरहे।
१०. सरकारी हस्तक्षेप नेपाल सरकारले पनि दुई पटक उहाँलाई तपोस्थल हलखोरिया जंगलबाट हटाउन डोजर प्रयोग गरेको र वन विनाशको आरोप लगाएको घटना बाहिर आयो। तर भक्तजनहरूले हलखोरियालाई तपोवनका रूपमा संरक्षण गर्नुपर्ने माग गर्दै आएका छन्।
११. स्थानान्तरण र घोषणा अन्ततः सरकारको कारण २०११ मा हलखोरिया छोड्न बाध्य पर्नुभयो। ६ वर्षको कठोर तपस्या पछि रामबहादुर बम्जनले आफू बौद्ध धर्म परम्पराभन्दा फरक “मैत्री सम्बोधि धर्म संघ मैत्रीनाथ परम्पराको” भएको घोषणा गर्नुभयो। यस घोषणापछि केही बौद्धमार्गी निराश भए भने केहीले उहाँको आलोचना पनि गर्न थाले।
१२. वैकल्पिक जीवन पद्धति र मैत्री मार्गको उदय विद्यालयसम्म औपचारिक शिक्षा पूरा नगरेको उहाँको तपोबल र साधनाको शक्तिले मैत्री लिपि तथा मैत्री भाषाको सुरुवात गर्नुभयो र क्रमशः मैत्री ग्रन्थहरूलाई समाजमा प्रचलनमा ल्याउनुभयो। उहाँले जन्मदेखि मृत्यु संस्कारसम्मका सम्पूर्ण पक्षहरू — भेषभूषा, खानपान, जीवनशैली, प्रार्थना तथा ध्यान विधिलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गर्दै मानव जीवनको परम लक्ष्यका रूपमा मुक्तिमार्गको प्रवर्तन गर्नुभयो। आज नेपाल, भारत लगायत विश्वका विभिन्न राष्ट्रहरूमा उहाँद्वारा प्रस्तुत मैत्री मार्ग अवलम्बन गर्ने अनुयायीहरू विस्तार हुँदै गएका छन् र धेरै जना मैत्री सम्बोधि धर्म संघ मार्गमा आबद्ध भइरहेका छन्।
१३. स्थानान्तरण र बसोबास, निजगढले घुमाएको अवसर हलखोरियाबाट सरकारले जबरजस्ती हटाएपछि उहाँका अनुयायीहरूले उहाँलाई सुरक्षित रूपमा विभिन्न स्थानहरूमा राख्ने प्रयास गरे। त्यस क्रममा उहाँ केही समय बाँडे गाउँ (पाइरे), सिन्धुली, टोडकेनारी, सिन्धुपाल्चोक र पथरकोट, सर्लाहीमा बस्नुभयो। विभिन्न स्थानमा बसाइँ सर्दै जाने क्रममा अन्ततः उहाँ पुनः बाँडे गाउँ (पाइरे), सिन्धुलीमै पुग्नुभयो, जहाँ आफ्ना अनुयायीहरूको आग्रह र अनुरोधलाई स्वीकार गर्दै स्थायी रूपमा बस्ने निर्णय गर्नुभयो।
१४. काठमाडौँ उपत्यकामा महादर्शन कार्यक्रम काठमाडौँ उपत्यकाको ललितपुरस्थित बुङ्मतीमा वि.सं. २०७३ सालमा महादर्शन तथा पूजा कार्यक्रम आयोजना गरिएको थियो। सो अवसरमा ८ दिनको अवधिमा करिब १८ लाख दर्शनार्थीहरूले मैत्री सम्बोधि गुरुको दर्शन गरेका थिए। नेपाल तथा विश्वभरबाट आएका अनुयायीहरूको सहभागितामा भेला तथा दर्शन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो। उक्त कार्यक्रम नेपाल लगायत विश्वका विभिन्न देशका सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा व्यापक रूपमा चर्चित भएको थियो।
१५. आश्रम गतिविधि र अन्तर्राष्ट्रिय प्रयासहरू त्यसपछि नियमित रूपमा सिन्धुलीस्थित आश्रमहरूमा विविध अनुष्ठान, मैत्री मार्ग प्रशिक्षण, ध्यान तथा साधनाका कार्यक्रमहरू निरन्तर सञ्चालन हुँदै गए। यसै क्रममा विश्वभरका अनुयायीहरूले सम्बोधि गुरुलाई आ–आफ्ना देशमा आमन्त्रण गर्ने तथा लैजाने प्रयासहरू पनि गर्न थाले। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले बालुवाटारमै बोलाएर उहाँलाई पासपोर्ट हस्तान्तरण गर्नुभएको थियो। तथापि हालसम्म उहाँले कुनै पनि विदेशी भ्रमण गर्नुभएको छैन।
१६. षड्यन्त्रको तानाबाना, जेल यात्रा र सफाइ तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले हलखोरिया तपोस्थललाई धार्मिक वनका रूपमा विकास गर्ने निर्णय सार्वजनिक भएको थियो। तर राजपत्रमा प्रकाशन हुनुअघि नै सरकार परिवर्तन भई केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उक्त निर्णय कार्यान्वयन हुन सकेन। त्यसपछि उहाँमाथि विभिन्न किसिमका झुटा आरोपहरू लगाउन सुरु गरिएको भन्ने समाचारहरू सार्वजनिक भए। उहाँलाई बलात्कार तथा ज्यानमारा जस्ता गम्भीर अभियोगहरू लगाई मुद्दा दर्ता गरिएको भन्ने खबरहरू पनि आएका थिए।
बुढानीलकण्ठ क्षेत्रबाट केही नेपाली तथा विदेशी मुद्रासहित हतकडी लगाएर पक्राउ गरिएको र त्यसपछि नेपाली मिडियाले अत्यधिक प्रचारप्रसार गर्दै उहाँलाई बदनाम गर्ने किसिमका समाचारहरू प्रसारण गरेको देखियो। सर्लाही जिल्ला अदालतका तत्कालीन न्यायाधीशले उहाँलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका थिए। केही महिनापछि जनकपुर उच्च अदालतले उहाँलाई रिहा गर्ने आदेश दिएको थियो। तर पुनः सर्लाही जिल्ला अदालतका न्यायाधीशले उहाँलाई थुनामा राख्ने अर्को आदेश दिएका थिए। पछिल्लो चरणमा बालेन नेतृत्वको सरकारको समयमा सर्लाही जिल्ला अदालतका अर्का न्यायमूर्तिले उहाँलाई सफाइसहित जेलमुक्त गर्ने फैसला गरेको बताइन्छ।
साथै, केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले पनि उहाँलाई सफाइ दिएको भन्ने जानकारी सार्वजनिक भएको छ। (पहिलो पटक CIB द्वारा पक्राउ गर्दा तत्कालीन प्रधानमन्त्री प्रचण्ड रहेका थिए भने पछिल्लो पटक प्रहरीले पक्राउ गर्दा प्रधानमन्त्री केपी शर्मा ओली रहेका थिए।)
१७. नेपाल र आध्यात्मिक परम्परा विदेशी र भारतीयहरूका लागि नेपाल “देवभूमि” र “मिस्टिक ल्यान्ड” भनेर चिनिन्छ, तर नेपालीहरूका लागि नजिकको देवता भन्दा टाढाको भूत नै प्रिय भएको देखिन्छ। गुरु पद्मसम्भव, गोरखनाथ, मच्छिन्द्रनाथ, शिवपुरी बाबा, योगी नरहरिनाथ, रेसुङ्गा बाबा, योगमाया न्यौपाने (भोजपुर),खप्तड बाबा, स्वर्गद्वारी प्रभु, झ्याठल रिम्पोछे, महामयोगी श्रीधर राणा रिम्पोछे, योगी प्रपन्नाचार्य,पछिल्लो पटक देखिएका मैत्रीनाथ (रामबहादुर बम्जन) जस्ता अनेक योगी–तपस्वीहरू देखा परेका छन्। नेपाल यस्ता अनेकौं योगी–तपस्वीहरूको देश हो, जहाँ जीवित देवी कुमारीको पूजा गरिन्छ। यहाँका धेरैजसो मन्दिर र गुम्बाहरू तन्त्रद्वारा स्थापना गरिएका हुन्। त्यसैले यति धेरै कम्युनिस्ट प्रशिक्षण र नास्तिक दर्शनको प्रचार भए पनि हरेक मन्दिर र गुम्बामा लाखौँ दर्शनार्थीहरूको उपस्थिति हुन्छ, आस्थाको कमी छैन र कहिल्यै हुनेछैन।
१८. मेरो तपस्वीसँगको पहिलो र अन्तिम भेट,निष्कर्ष मेरो तपस्वीसँग पहिलो भेट निजगढबासी पेमा सिद्दी लामाले रफ भिडियो फुटेज लिएर एडिट गरिदिनु पर्यो भने पछि वरिष्ठ पत्रकार मित्र दिवश गुरागाईं र मैले वृत्तचित्र बनाउने सिलसिलामा पहिलो भिडियोमा पहिलो दर्शन भयो, त्यसपछि हलखोरियामा भएको थियो। म आफ्नो धर्मपत्नी, दुई छोराहरू तथा निजगढका दुई मित्र केबी लामा र हीरा सारु मगरसँग अक्टोबर २००६ को दशैंको अवसरमा हलखोरिया तपोस्थल पुगेको थिएँ। फर्कने क्रममा बाटोभरि एउटै प्रश्नले मन छोइरहेको थियो — १६/१७ वर्षको एक युवक कसरी यस्तो डरलाग्दो, घनघोर जंगलमा एक्लै बसिरहेको होला? मेरो लागि योभन्दा ठूलो चमत्कार अरू केही लागेन। मेरो बालसखा काजी लामा (निजगढ) पहिले मदिराको लतमा (Alcoholic) हुनुहुन्थ्यो। तर मैत्रीभूमिमा पुगेपछि उहाँले त्यो बानी पूर्ण रूपमा त्याग्नुभयो र आज धेरै वर्षदेखि बिना मदिराको जीवन बिताइरहनुभएको छ। यो परिवर्तन पनि मेरो लागि गहिरो प्रेरणा बन्यो। एक पटक (२०७३) एक चिनियाँ महिला निजगढस्थित तारा इनमा तपस्वीको खोजीमा आइन्। भेटका क्रममा मैले उनलाई सोधेँ — “तपाईं किन तपस्वी खोज्दै आउनुभयो?” उनले भनिन् कि उनी पेशाले डाक्टर हुन्, र उनको सपनामा बारम्बार एउटै केटा देखिन्थ्यो।
एकदिन “नेपाली लिटिल बुद्ध” भनेर चिनियाँ पत्रिकामा देखेको तस्वीर त्यही केटो भएको महसुस भएपछि उनी उहाँलाई भेट्न आएकी रहिछन्। यद्यपि मैले स्वयंले त्यस्तो कुनै अलौकिक अनुभव गरेको छैन। तर मेरो लागि उहाँको कठोर तपस्या र हलखोरियाको गहिरो जंगलमा गरिएको साधना नै सबैभन्दा ठूलो चमत्कार हो। नोट: धेरै अनुयायीहरूको चमत्कारिक अनुभवहरू यसमा समावेश गरिएको छैन, किनकि तिनीहरूलाई वैज्ञानिक रूपमा प्रमाणित गर्न सकिँदैन।
