जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन : शंकर पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) का महासचिव शंकर पोखरेलले जनतामा रहेको नैराश्यता चिर्न दुई ठूला पार्टी मिल्नुपरेको बताएका छन्। नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले २०८४ सालको निर्वाचनसम्म एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन नटुट्ने बताए । महासचिव पोखरेलले समाजमा विखण्डनको प्रयास भइरहेको बताउँदै एमाले त्यसका विरुद्ध स्पष्टताका साथ उभिनुपर्नेमा जोड दिए । उनले एमालेमाथि प्रहार भयो भनेर खुट्टा कमाउने नभई आँट र हिम्मतका साथ खुट्टा टेक्नुपर्ने बताए । “एमाले माथि जुन प्रकारको घेराबन्दी र प्रहार भइरहेको छ । त्यो प्रहार र घेराबन्दीलाई सामना गर्ने क्षमता एमालेमा छ”, उनले भने, “एमालेका सामु ठूला ठूला संकट आउँदा एमालेले ती सबै संकटको सामना गर्दै आएको छ । सबै खालका संकट सामना गर्दै एमाले बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै आएको छ ।” एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वयका संयोजक भानुभक्त ढकालले पार्टीमा दलितको प्रतिनिधित्व सुनिश्चित गरिएको बताए । समाजका अध्यक्ष मनोहर विश्वकर्मा पौडेलले दलित समुदायको सशक्तीकरणमा राज्य गम्भीर बन्नुपर्ने जोड दिए। यही जेठ ७ गतेसम्म सञ्चालन हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *