प्रधानमन्त्रीले मुख हेर्नै मन लागेको छैन भन्दा प्रचण्डको चित्त दुखाई: मन चसक्क बिझेको छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलका प्रमुख नेताहरुसँग भेट्ने इच्छा नभएको भनेर दिएको अभिव्यक्तिप्रति दुःखेसो पोखेका छन् ।

हालै सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री कार्कीले जेनजी अगुवाहरुको दबाबको कारण आफूले कांग्रेस, एमाले र माओवादीका नेतृत्वलाई भेट्न नचाहेको स्पष्ट पारेकी थिईन् । त्यही विषयमा प्रचण्डले आज गुनासो पोखेका हुन् । नेकपाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सो क्रममा उनले आफूले जेनजीको भावना अनुसार कार्कीलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको पनि दाबी गरे । सुशीलालाई प्रधानमन्त्री बनाउन र अहिलेको संविधान जोगाउनको लागि आफूले सक्रिय भूमिका खेलेको स्मरण गराउँदै उनले अहिले शीर्ष नेतालाई भेट्न नचाहेको कुराले मनमा चसक्क भएको बताए ।

‘अन्तरिम सरकारको प्रधानमन्त्री सम्माननीय सुशीला कार्की जी। हामीले उहाँलाई जेन–जीको भावना भनेर आइसकेपछि उहाँकै नेतृत्वमा सरकार बनाउने कुरामा हामीले सहमति जनाएकै हो। र, तुरुन्तै निर्वाचनमा जाने घोषणा पनि गरेकै हो,’ दाहालले भने, ‘कहिलेकाहीँ मिडियामा, मलाई थाहा छैन, त्यो साँचो हो कि झुटो हो।’

उनले भने, ‘अझ उल्टो फलाना फलाना नेतालाई त म हेर्नै मन लागेको छैन भन्नुभयो रे। भन्दाखेरि चसक्क बिझेको त छ। मलाई थाहा छैन प्रधानमन्त्रीले त्यसो भन्नुभएको हो कि होइन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *