काठमाडाैं। अविरल वर्षाका कारण उर्लिएको रोशी खोलाको बाढीमा जबर्जस्ती सवारी साधन हालेर यात्रुको ज्यान जोखिममा पार्ने पाँचजना चालकलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ। मङ्गलबार साँझदेखि भएको वर्षाले रोशी खोलाको बहाव बढेको अवस्थामा सुरक्षा निकायको निर्देशनलाई अवज्ञा गर्दै खोला तार्न खोज्दा पाँच वटा माइक्रोबस बाढीको बीचमा फसेका थिए।
घटना काभ्रेको रोशी गाउँपालिका–७ स्थित घुमाउने चारसय वेशीमा भएको हो। पूर्वतर्फबाट काठमाडौँ आउँदै गरेका ती माइक्रोबसहरूमा सवार ८९ जना यात्रुहरू खोलाको बीचमा अलपत्र परेपछि ठूलो सुरक्षा चुनौती पैदा भएको थियो।
घटनाको जानकारी पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली उद्धारका लागि खटिएको थियो। सुरक्षा निकायहरूको निकै कठिन र चुनौतीपूर्ण प्रयासपछि बुधबार बिहान करिब १ बजे सबै यात्रुलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन विष्टले जानकारी दिनुभयो।
उद्धार कार्य जारी रहँदा नेपाल प्रहरी र ट्राफिक प्रहरीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी साधनहरूलाई अघि नबढाउन स्पष्ट निर्देशन दिएका थिए।
तर, ती चालकहरूले सुरक्षाकर्मीको चेतावनीलाई बेवास्ता गर्दै लापरवाहीपूर्वक बाढीमा गाडी हुइँकाएका थिए। “यात्रुहरूको ज्यान र धनमा गम्भीर जोखिम पुर्याएको र सुरक्षा निकायको निर्देशन समेत पालना नगरेकाले पाँचवटै माइक्रोबसका चालकलाई नियन्त्रणमा लिएका हौँ,” डीएसपी विष्टले भन्नुभयो।
पक्राउ परेका चालकहरूलाई हाल जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा राखिएको छ। उनीहरूमाथि लापरवाहीपूर्वक सवारी चलाएर ज्यान जोखिममा पारेको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वर्षायाममा बाढी र पहिरोको उच्च जोखिम रहने भएकाले सुरक्षाकर्मीको निर्देशन पालना गर्न र जोखिमपूर्ण यात्रा नगर्न प्रहरीले पुनः सबैमा अपिल गरेको छ।
