काठमाडाैं। नेपाली कांग्रेसको नवनिर्मित संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको हो।
पार्टीको संसदीय गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यका साथ गठन भएको यस बोर्डको यो नै पहिलो औपचारिक बैठक हो।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार यो बैठक कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको बोर्डको पहिलो बैठक हो।
विधानमा गरिएको पछिल्लो परिमार्जनअनुसार संसदीय दल र पार्टी संगठनबीचको समन्वयलाई मजबुत बनाउन यो बोर्डको व्यवस्था गरिएको हो।
बैठकमा संसद्मा पार्टीको भूमिका, आगामी विधायीकी कार्यसूची र समसामयिक राजनीतिक विषयमा संसदीय दलले लिने रणनीतिका बारेमा प्रारम्भिक छलफल हुने बताइएको छ। कांग्रेसले बोर्डका सबै सदस्यहरूलाई तोकिएको समयमा अनिवार्य उपस्थित हुन निर्देशन समेत दिएको छ।
विशेषगरी संसद्का आगामी सत्रहरूमा पार्टीको उपस्थिति र सक्रियतालाई कसरी बढाउने भन्नेबारे यस बैठकले मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।
