काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि सङ्घीय संसद्को दुवै सदनका अधिवेशन आह्वान गरेका छन्।
उनले सोमबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन, सिहंदरबारमा बैठक बस्ने गरी दुवै सदनका अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले एक विज्ञप्तिमार्फत जानकारी दिए।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति यही वैशाख २२ गतेको सिफारिसमा सदनको अधिवेशन आह्वान गरेका हुन्।
सरकारले आजै संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
यसअघि पनि सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गरेका थिए। तर, आह्वान भएको भोलिपल्टै सरकारले रणनीतिक रूपमा उक्त अधिवेशन स्थगित गर्न सिफारिस गरेको थियो।
संसद् नचलेको सोही अन्तरालमा सरकारले संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेशसहित विभिन्न ८ वटा अध्यादेशहरू जारी गर्ने प्रक्रिया अघि बढाएको थियो।
विशेषगरी, राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट पुनः जस्ताको तस्तै पठाउने निर्णय गरेको थियो। मंगलबार दिउँसो राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गर्नासाथ सरकारले संसद् अधिवेशनको मिति तय गरेको हो।

