देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यस प्रणालीका कारण बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागसहित कोशी प्रदेशको हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने देशका अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था कायम छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानसहित अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

यस्तै, तराईका केही स्थानमा पनि चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। आज राति भने कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली कायम रहनेछ। कोशी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेस प्रदेशसहित अन्य पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

मौसममा आएको परिवर्तनसँगै चट्याङ्ग, वर्षा र हिमपातबाट हुन सक्ने सम्भावित जोखिमप्रति सतर्क रहन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *