साइबर ब्यूरोको नाम दुरूपयोग गरी ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । साइबर ब्यूरोको नाम दुरूपयोग गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-३ बस्ने ३० वर्षीय दिपक लिम्बु, सुनसरी धरान उपमहानगरपालिका-९ बस्ने २१ वर्षीय  सौरव भुजेल, सोही उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय सजल राई र इनरूवा नगरपालिका-६ बस्ने २४ वर्षीय सृजन थापा रहेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीको नाम दुरुपयोग गरी पीडितलाई फोन सम्पर्क गरी डर त्रास तथा प्रलोभनमा पारी रकम पठाउन लगाई विद्युतीय माध्यम सम्बद्ध ठगी कार्य भएको भन्ने पीडितहरूको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय धरान सुनसरीको समन्वयमा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *