रुकुम पश्चिम। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले देखेको क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्। उनले अधुरा सपनाहरू पूरा गर्न र मुलुकलाई समृद्धिको दिशामा लैजान सबै कम्युनिस्ट शक्तिहरूबीचको एकता अपरिहार्य रहेकोमा जोड दिएका छन्।
आइतबार रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१० खर्सुपानीमा नवनिर्मित ‘सहिद कामी बुढा स्मृति पार्क’ को उद्घाटन गर्दै संयोजक दाहालले क्रान्तिकारी आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै समाजवादको नयाँ यात्रा सुरु गरिएको बताए। उनले विभाजित रहेका कम्युनिष्ट समूहहरूलाई एकै ठाउँमा ल्याएर मात्रै जनअपेक्षा पूरा गर्न सकिने विश्वास व्यक्त गरे।
“हामी समाजवादको यात्रामा दृढताका साथ अगाडि बढ्ने लक्ष्यका साथ लागिरहेका छौं,” उद्घाटन मन्तव्यका क्रममा दाहालले भने, “त्यसका लागि विभिन्न कम्युनिस्ट समूहहरूलाई एकताबद्ध गरी समाजवादको नयाँ यात्रा तय गर्न हामीले नेकपा बनाएका छौं। अहिले बाहिर रहेका र बाँकी रहेका अन्य कम्युनिस्ट शक्तिहरूलाई पनि छिट्टै एकताबद्ध गर्ने हाम्रो प्रयास जारी छ।”
संयोजक दाहालले १० वर्षे जनयुद्ध र विभिन्न आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरूलाई संस्थागत र व्यवस्थित गर्न शान्ति सम्झौता र संविधानसभाका पक्षधर शक्तिहरूबीच सहकार्य हुनुपर्ने बताए। उनले परिवर्तनका संवाहक दलहरू मिल्दा मात्रै देशले सही निकास पाउने र संविधानको रक्षा हुने बताए।
सहिद कामी बुढाको योगदानको स्मरण गर्दै उनले सहिदहरूको बलिदानीकै जगमा आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरे। सहिदका सपनाहरूलाई भुल्न नहुने भन्दै उनले स्मृति पार्कहरूले भावी पुस्तालाई इतिहास र क्रान्तिको महत्त्व बुझाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
