एमालेले भन्यो- संसद् छलेर अध्यादेश ल्याउनु रहस्यमयी

काठमाडौं। नेकपा एमालेले सरकारले संसद् छलेर अध्यादेश ल्याउनु रहस्यमयी भएको बताएको छ। विपक्षी दलको बैठकपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै संसदीय दलका नेता रामबहादुर थापाले उक्त कुरा बताएका हुन्।

‘सदनलाई छलेर सरकारले अध्यादेश ल्याउन सिफारिस गरेको विषय रहस्यमय छ। यसमा हामी पनि स्पष्ट छैनौं,’ उनले भने। उनले राष्ट्रपति रामचन्द्र पौडेललाई अध्यादेश तत्काल फिर्ता गर्न आग्रहसमेत गरेका छन्।

‘विगतका सरकारले सदन नबसेको अवस्थामा अध्यादेश सिफारिस गर्न पाउँथ्यो। त्यो ऐनले व्यवस्था गरेको छ। तर, यो त त्यो भन्दा नितान्त भिन्न मात्र हैन, उल्टो छ। सदनलाई स्थगित गरेर यो अध्यादेश जारी गरिएको छ,’ उनले भने।

सदनको मुख्य भूमिका ऐन निर्माण गर्ने भएको उनले स्मरण गराए। ‘सदनले ऐन कानुन बनाउने हो। सरकारले त ऐन कानुनहरूलाई कार्यान्वयन गर्ने हो। त्यसकारण त्यो कार्यपालिका हो,’ उनले भने।

व्यवस्थापिकाको अधिकार क्षेत्रलाई मिचेर सरकार आफैँले ऐन बनाउने कदम अलोकतान्त्रिक र असंवैधानिक भएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *