एआईसँग बलिउडको नयाँ दौड

मुम्बई । कृत्रिम बौद्धिकता (एआई) ले फिल्म उद्योगमा जोखिम र अवसर दुवै सिर्जना गरिरहेका बेला भारतमा भने यसै प्रविधिबाट पूर्णरूपमा बनेको पहिलो सफल बलिउड फिल्म निर्माण गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । यही दौडमा अग्रपङ्क्तिमा देखिएको परियोजना ‘महाराजा इन डेनिम्स’ अहिले विशेष चासोको केन्द्र बनेको छ ।

खुशवन्त सिंहको सन् २०१४ को लोकप्रिय उपन्यासमा आधारित यो फिल्म यसै गर्मीमा प्रदर्शनका लागि तयारी अवस्थामा रहेको छ । परम्परागत फिल्म निर्माणभन्दा फरक, यसमा कलाकार, महँगो सेट वा लामो सुटिङ तालिकाको आवश्यकता नपरेको निर्माण टोलीले जनाएको छ । “यहाँ कलाकारको पारिश्रमिक छैन, ढिलाइको झन्झट छैन, सेट निर्माणको बोझ पनि छैन—यो दिमाग र मेसिनबीचको सिर्जनात्मक सहकार्य हो”, सिंहले भने ।

भारतीय फिल्म उद्योगले बर्सेनि दुई हजारभन्दा बढी फिल्म उत्पादन गर्ने क्षमतासहित एआईलाई छिटो आत्मसात गरिरहेको छ । यसको विपरीत, हलिउडमा भने एआईको प्रयोगलाई लिएर विवाद, हड्ताल र कडा युनियन सर्तहरू देखिएका छन् । भारतमै ‘चिरञ्जीवी हनुमानः द इटर्नल’ र कन्नड भाषाको ‘लभ यु’ जस्ता परियोजनाहरू पनि एआईमा आधारित अग्रगामी प्रयासका रूपमा प्रस्तुत भइरहेका छन् ।

यद्यपि, सबै परियोजनाहरू सहज छैनन् । ‘नाइशा’ नामक अर्को एआई फिल्म प्राविधिक समस्याका कारण निर्धारित समयमै प्रदर्शन हुन सकेन । ‘महाराजा इन डेनिम्स’ पनि एआई प्रविधिको तीव्र विकासका कारण बारम्बार परिमार्जन गर्नुपर्दा ढिलाइको सामना गर्न बाध्य भएको थियो । “नयाँ प्रविधि प्रयोग गर्ने लोभले पहिले तयार सामग्री पनि असन्तोषजनक लाग्छ, तर यसले लागत बढाउँछ”, सिंहले स्वीकार गरे ।

सन् २०२४ मा सुरु गरिएको यस परियोजनामा सिंह र इन्टेलिफ्लिक्स स्टुडियोका सह–संस्थापक गुरदीप सिंह पालले निर्देशक र सिनेमाटोग्राफरसहित सानो टोली बनाएर काम अघि बढाएको थियो । पाल यसअघि माइक्रोसफ्टमा एआई र प्रोडक्ट विकाससँग सम्बन्धित जिम्मेवारीमा रहेको थियो ।

फिल्मको कथा एक किशोर वरिपरि केन्द्रित छ, जसले आफू १९औँ शताब्दीका सिख शासक महाराजा रणजीत सिंहको पुनर्जन्म भएको विश्वास गर्छ । यस्ता ऐतिहासिक र बहुपरत कथा सामान्यतया महँगो निर्माणसँग जोडिन्छन्, तर एआईले लागतलाई करिब दशौँ भागमा सीमित गरेको निर्माण पक्षको दाबी छ ।

तर यथार्थपरक दृश्य निर्माण सबैभन्दा ठूलो चुनौती बनेको छ । एआई मोडेलहरू भारतीय अनुहार र सिख ऐतिहासिक पात्रहरूका लागि पर्याप्त प्रशिक्षित नभएकाले बारम्बार समस्या समाधान गर्नुपरेको थियो । “पश्चिमी कथा बनाउन सजिलो हुन्थ्यो, किनकि मोडेलहरू त्यसका लागि तयार छन्”, सिंहले भने, “यदि चुनौती थाहा हुन्थ्यो भने सायद फरक कथा रोज्ने थियौँ ।”

फिल्ममा पूर्ण एआई प्रयोग भए पनि केही मानवीय पक्ष जोगाइएको छ । विशेषगरी, सङ्गीतमा परम्परागत शैली समेटिएको छ, जसमा चर्चित गायक सुखविन्दर सिंहको स्वर रहनेछ । “भारतमा दर्शकले सङ्गीत हेर्छन्, त्यसैले यसलाई समावेश गर्नु आवश्यक हुन्छ”, सिंहले भने ।

एआई फिल्म निर्माणप्रति रुचि फिल्म उद्योगबाहिर पनि फैलिन थालेको छ । सिंहका अनुसार केही मन्दिर ट्रस्टहरूले समेत पौराणिक कथामा आधारित एआई फिल्म बनाउन प्रस्ताव पठाएका छन् ।

चुनौतीहरू हुँदाहुँदै पनि सिंह एआईले फिल्म उद्योगलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्छन् । “प्रविधि यसरी अघि बढ्दै जाँदा कुनै गाउँमा बसेको १८ वर्षको युवाले पनि ठूला स्टुडियोलाई चुनौती दिन सक्नेछ”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *