काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्ना इरानी समकक्षी अब्बास अराघचीलाई हर्मुज जलडमरूमा सामान्य आवागमन पुनर्स्थापित गर्न प्रयास गर्न आग्रह गरेका छन्।
वाङले भने – हर्मुज जलडमरूमा इरानको सार्वभौमसत्ता र सुरक्षाको सम्मान र रक्षा गरिनुपर्छ, तर यस जलमार्गबाट नेभिगेसनको स्वतन्त्रता र सुरक्षाको पनि ग्यारेन्टी गरिनुपर्छ।
उनले यो समुद्री मार्ग खोल्नु सबै देशको हितमा रहेको बताए। वाङले थप भने – चीनले युद्धविराम कायम राख्ने र वार्ता पुनः सुरु गर्ने कुरालाई समर्थन गर्दछ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलडमरूम सदाको लागि खोल्ने बताएका थिए।
ट्रुथ सोसियलमा पोस्ट गर्दै ट्रम्पले लेखेका छन् , “चीन धेरै खुसी छ कि म हर्मुजको जलडमरूम सदाको लागि खोल्दैछु। म यो उनीहरूको लागि र सम्पूर्ण विश्वको लागि गर्दैछु। यो अवस्था फेरि कहिल्यै उत्पन्न हुनेछैन।”
हर्मुजको जलडमरूम एक महत्त्वपूर्ण समुद्री मार्ग हो, जसले विश्वको २०% तेल र ग्यास आपूर्ति गर्दछ। अमेरिका र इजरायलले फेब्रुअरी २८ मा गरेको आक्रमणपछि इरानले यस समुद्री मार्गमा नाकाबन्दी लगाएको छ।
हर्मुजको जलडमरूम बन्द भएपछि विश्वव्यापी तेल र ग्यास संकट बढेको छ र मूल्यमा वृद्धि भएको छ। इरान युद्धपछि सुरु भएको यो संकटले आगामी दिनमा ऊर्जा आपूर्तिमा अझ गम्भीर प्रभाव पार्न सक्ने विश्वास गरिएको छ।
