सरकारको निर्णयअनुसार नै कक्षा संचालनको तयारी गर्न निजी विद्यालय संचालकहरुलाई आग्रह

काठमाडाैँ । निजी विद्यालय संचालकहरुको छाता संगठनले वैशाख १५ गतेदेखि भर्ना प्रक्रिया र वैशाख २१ गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने सरकारको निर्णअनुसार पठनपाठनको व्यवस्था मिलाउन विद्यालयहरुलाई आग्रह गरेको छ ।

निजी विद्यालय संचालकहरुको छाता संगठन प्याव्सन, एनप्याब्सन, अपेन र हिसानका प्रतिनिधिले शिक्षामन्त्रीसँग भेट गरी वैशाख २१ गतेपछि पठनपाठनमा अवरोध आउन नदिन आग्रह गरेको जानकारी गराएको हो ।

मन्त्रीसँगको भेटपछि संयुक्त विज्ञप्ति जारी गरी उनीहरुले वैशाख १५ गतेदेखि भर्ना प्रक्रिया र वैशाख २१ गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने व्यवस्था रहेको सन्दर्भमा यस अवधिमा विद्यार्थीहरूको पठनपाठनको निरन्तरतामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले विद्यालयहरूले आन्तरिक रूपमा आवश्यक समन्वय र तयारीलाई अगाडि बढाउनु अत्यन्त जरुरी देखिएको बताएका छन् ।

यसबीचमा विद्यालयहरूले अभिभावकहरूसँग निरन्तर संवाद र सहकार्य कायम राख्दै विद्यार्थीहरूलाई सिकाइसँग जोडिराख्ने खालका सिर्जनात्मक तथा व्यवहारिक गतिविधिहरूमा संलग्न गराउने, आवश्यक परामर्श तथा मार्गदर्शन प्रदान गर्ने र सिकाइको वातावरणलाई सक्रिय बनाइराख्ने प्रयास गर्नुपर्ने आवश्यकता देखिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै विज्ञप्तिमा स्थानीय सरकारसँग समन्वय गर्दै परिस्थिति अनुसार आफ्ना गतिविधिहरूलाई व्यवस्थित गर्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *