लागूऔषध कारोबारी पक्राउ

नेपालगन्ज। प्रहरीले नेपालगन्जमा आज हवाइफायरिङ गरेर तीन जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी रमेश विष्टले नेपालगन्ज उपमहानगरपालिका वडा नं २२ स्थित शान्तिनगरचोक नजिक तीन राउण्ड हवाइफायरिङ गरेर उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए। पक्राउ परेकाहरूको साथबाट ३७० ग्राम ब्राउनसुगरसमेत प्रहरीले बारमद गरेको छ।

पक्राउ गरेर नियन्त्रणमा लिएकामा नेपालगन्ज उपमहानगरपालिका २२ का ३५ वर्षीय नुरमोहम्मद किङ्गरिया, सोही स्थानका २८ वर्षीय दिनेश बासखोरी र २९ वर्षीय सरोश शाही रहेको प्रहरी निरीक्षक विष्टले उल्लेख गरे। उनले धेरै दिनको प्रयासपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको जानकारी दिँदै कार्यालय सुरु भएपछि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने बताए।

“हामीले धेरै दिनदेखि पिछा गरिरहेका थियौँ र सुराक पनि परिचालन गरेका थियौँ, आज कारोबार गर्न लागेको समयमा पक्राउ गर्न सफल भयौँ”, उनले भने। बाँकेमा दैनिकजसो प्रहरीले लागुऔषधमा संलग्न भएका व्यक्ति र कारोबारीलाई पक्राउ गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *