मुलुकको आर्थिक अवस्था नाप्न बुधबारदेखि राष्ट्रिय आर्थिक गणना सुरू हुँदै

बागलुङ । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलनको काम बुधबारदेखि देशभर एकसाथ सुरु हुँदैछ। राष्ट्रिय तथ्याङ्क कार्यालयले गणनाका लागि छनोट भएका गणक र सुपरीवेक्षकलाई पाँच दिनको विशेष तालिम दिएर कार्यस्थलमा खटाएको छ।

आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म चल्ने यस गणनाका लागि बागलुङमा ३३ गणक र पाँच सुपरीवेक्षक परिचालन गरिएको जिल्ला आर्थिक गणना कार्यालय, बागलुङका प्रमुख चन्द्रकान्त सुवेदीले जानकारी दिए। उनका अनुसार चैत २६ गतेदेखि ३० गतेसम्म गणकहरूलाई तालिम दिएर कार्यक्षेत्रमा पठाइसकिएको छ।

यो गणनाले औद्योगिक तथा व्यापारिक संरचनाको जानकारी लिने, रोजगारी सिर्जनाको अवस्था पत्ता लगाउने र राष्ट्रिय अर्थतन्त्रमा विभिन्न क्षेत्रको योगदान मापन गर्ने लक्ष्य राखेको छ। सत्यतथ्य र विश्वसनीय विवरण सङ्कलन गर्नका लागि गणकहरूलाई विशेष प्रशिक्षण दिइएको छ। यसबाट प्राप्त हुने तथ्याङ्कले मुलुकको नीति तथा योजना निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले यो एउटा राष्ट्रिय अभियान भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिए। गणनामा वस्तु उत्पादनदेखि सेवा प्रदायकसम्मका सबै औपचारिक र अनौपचारिक प्रतिष्ठान तथा व्यवसायहरू समेटिनेछन्। नेपालमा यसअघि विसं २०७५ मा पहिलो पटक राष्ट्रिय आर्थिक गणना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *