भोजपुर । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य बनेका छन् । विशेषगरी भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्ग क्षेत्रमा ढकमक्क फुलेका गुराँसले यहाँको प्राकृतिक सौन्दर्यलाई झन् लोभलाग्दो बनाएको छ ।
यस पदमार्गका जङ्गल यतिबेला गुराँसका विभिन्न प्रजातिले ढाकिएका छन् । रातो, गुलाबी र सेतो गुराँसले बनाएका रङ्गीन दृश्यले पदयात्रामा निस्किएका पर्यटकलाई आनन्द दिइरहेको छ । हरिया बनजङ्गलमाथि गुराँसको राताम्य रङ मिसिँदा देखिने दृश्यले जो कोहीलाई मोहित बनाउने गरेको छ ।
मुन्दुम पदमार्ग प्राकृतिक सौन्दर्य मात्र नभई सांस्कृतिक र धार्मिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । किराँत समुदायको मौलिक संस्कार, परम्परा र ‘मुन्दुम’ (धार्मिक ग्रन्थ) सँग जोडिएको यो क्षेत्रले किराँत सभ्यताको जीवनशैली झल्काउँछ ।
पदमार्ग हुँदै यात्रा गर्दा स्थानीय समुदायको संस्कार, भाषा, वेशभूषा र परम्परागत जीवनशैली नजिकबाट अनुभव गर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताए । यिनै विशेषताका कारण पछिल्लो समय मुन्दुम पदमार्ग भ्रमण गर्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको उनले जानकारी दिए ।
वसन्त ऋतु पदयात्राका लागि सबैभन्दा उपयुक्त समय भएकाले यतिबेला आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । पर्यटकलाई लक्षित गरेर चखेवामा चैत ३० देखि २०८३ वैशाख २ गतेसम्म रैथाने खाना महोत्सवसमेत आयोजना गरिएको उनको भनाइ छ ।
“गुराँस, चापलगायत फूलसँगै मुन्दुम पदमार्गको सुन्दरता झन् बढेको छ,” अध्यक्ष बस्नेतले भने, “पर्यटकलाई लक्षित गरेर हामीले रैथाने खाना महोत्सव पनि आयोजना गरेका छौँ ।”
