पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । आज कर्णाली प्रदेशस्तरीय कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमका लागि सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो माग गरेका हुन् ।

सरकारले कर्णालीलाई इन्धनमा भएको मूल्य वृद्धिमा विशेष सहुलियत दिनुपर्ने घिसिङको भनाइ छ। “कर्णालीमा विकट भूगोल भएकाले आफैँमा खर्चिलो छ । यहाँ बाह्य तथा आन्तरिक पर्यटकको यात्रा तथा आवागमनलाई सहज बनाउन डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनको मूल्य वृद्धि गर्नु हुँदैन,” उनले भने, “नजिकको छिमेकी देश भारतले पनि इन्धनमा मूल्य वृद्धि नगरेको भन्दै यसमा सरकारले नागरिकमाथि मूल्य वृद्धिको भार घटाउनुपर्छ र स्तरीकरण गर्न सक्नुपर्छ ।”

उनले दुई तिहाइको सरकारलाई काम गर्ने वातावरण बनाउन सहयोग गर्ने जानकारी दिए ।

छोटो समयमै पार्टी गठनले त्यसको उचित व्यवस्थापन गर्न नपाउँदै चुनावमा जानुपर्ने बाध्यता भएकाले हार व्यहोर्नु परेतापनि अबको चुनावमा उनेपा ठूलो पार्टी भएर आउने र वडा तहसम्म सङ्गठन विस्तार गर्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *