नेपाल स्टक एक्सचेन्ज को स्टक डिलर कार्यविधिमा संशोधन, लगानी दायरा विस्तार र प्रक्रिया सरलीकरण

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूँजीबजारलाई थप गतिशील, व्यवस्थित र तरल बनाउन स्टक डिलर सम्बन्धी कार्यविधिमा महत्वपूर्ण संशोधन गरेको छ ।

‘धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७’ को पहिलो संशोधनमार्फत डिलरहरूको लगानी दायरा विस्तार गर्दै अब उनीहरूले साधारण शेयरसँगै सरकारी ऋणपत्र, म्युचुअल फण्ड र डिबेन्चरमा पनि कारोबार गर्न सक्ने भएका छन् ।

साथै, पहिले रहेको लगातार ३ वर्ष नाफामा रहेका कम्पनीमा मात्र लगानी गर्नुपर्ने बाध्यता हटाइएको छ, जसले सम्भावना भएका नयाँ कम्पनीहरूमा पनि लगानीको ढोका खोल्नेछ । विगतमा रहेको ८० प्रतिशत कारोबार दिनको शर्त हटाइएको भए पनि कम्तीमा ६ महिना सूचीकृत भएका कम्पनीमा मात्र लगानी गर्न पाइने व्यवस्था कायम गरिएको छ।

यसैगरी, न्यूनतम चुक्ता पूँजीको सीमा २० करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्‍याइएको छ र दैनिक खुद कारोबार सीमा नेटवर्थको ६० प्रतिशतसम्म कायम गरिएको छ ।

प्रक्रियागत रूपमा, अब डिलरहरूले कम्पनी सूची स्वीकृत गराउनु नपर्ने, केवल जानकारी गराए पुग्ने व्यवस्था गरिएको छ, जसले कारोबारलाई सहज बनाउने अपेक्षा गरिएको छ। नेप्सेका सीईओ चुडामणि चापागाईं का अनुसार यस संशोधनले बजारमा तरलता वृद्धि गर्दै स्टक डिलरहरूको भूमिका थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *