काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अत्यन्तै आक्रामक चेतावनी दिँदै निर्धारित समयसीमा (डेडलाइन) भित्र सम्झौता नगरे इरानलाई एकै रातमा ध्वस्त बनाउन सकिने धम्की दिएका छन् ।
ह्वाइट हाउसमा आयोजित प्रेस सम्मेलनमा बोल्दै ट्रम्पले यदि इरानले मंगलबार रातीसम्म अमेरिकाले राखेका सर्तहरू पुरा नगरे भोलिको रात नै इरानका लागि अन्तिम हुन सक्ने बताए।
ट्रम्पको मुख्य माग इरानले ‘होर्मुज स्ट्रेट’ खुला गर्नुपर्ने रहेको छ, जहाँबाट विश्वको कुल तेल आपूर्तिको २० प्रतिशत हिस्सा ओसारपसार हुने गर्दछ। वासिङ्टन डिसीको समयअनुसार मंगलबार राती ८ बजे यो डेडलाइन समाप्त हुँदैछ।
राष्ट्रपति ट्रम्पले इरानका वर्तमान नेताहरूले ‘सद्भाव’ का साथ वार्ता गरिरहेको विश्वास व्यक्त गरे पनि नतिजा भने अझै अनिश्चित रहेको बताए। उनले स्पष्ट पारे कि यदि डेडलाइनभित्र होर्मुज स्ट्रेट नखोलिएमा अमेरिकाले इरानको ऊर्जा र यातायात पूर्वाधारहरूमा भिषण आक्रमण गर्नेछ।
ट्रम्पले चेतावनी दिँदै भने, “इरानलाई ढुङ्गे युगमा फिर्ता पठाइनेछ; उनीहरूसँग न त कुनै पुल बाँकी रहनेछ, न त कुनै पावर प्लान्ट नै।” अमेरिकी जोइन्ट चिफ अफ चेयरम्यान जनरल डान केन र रक्षा मन्त्री पीट हेगसेथको उपस्थितिमा भएको उक्त सम्मेलनमा ट्रम्पले दक्षिणी इरानमा खसालिएको एउटा अमेरिकी लडाकु विमानका चालक दलको सफल उद्धार कार्यलाई ‘बहादुरीपूर्ण मिसन’ भन्दै प्रशंसा समेत गरे।
यता इरानले भने अमेरिकाले अघि सारेको अस्थायी युद्धविरामको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिएको छ। इरानले युद्धको स्थायी अन्त्य र आफूमाथि लगाइएका प्रतिबन्धहरू हटाउनुपर्ने माग राखेको छ। इरानी आधिकारिक समाचार एजेन्सी इरनाका अनुसार इरानले आफ्नो नागरिक पूर्वाधारको पुनर्निर्माणमा सहयोग र होर्मुज स्ट्रेटमा जहाजहरूको सुरक्षित आवागमनका लागि सहकार्यको सर्त राखेको छ।
हाल इरानमा सञ्चार व्यवस्था ठप्प भएकाले वार्ताको सन्देश आदानप्रदान गर्न निकै कठिनाइ भइरहेको र एउटा जवाफ आउन झन्डै एक दिन लाग्ने गरेको अधिकारीहरूले बताएका छन्। यस संकटपूर्ण घडीमा पाकिस्तान, टर्की र इजिप्टले मध्यस्थताको प्रयास गरिरहेका छन्।
यसैबीच, ट्रम्पले आफ्ना प्रमुख सहयोगी राष्ट्रहरू नेटो, बेलायत र दक्षिण कोरियाको कडा आलोचना गरेका छन् । संकटको समयमा अमेरिकालाई साथ नदिएको भन्दै उनले यसलाई नेटोको इतिहासमा ‘कहिल्यै नमेटिने दाग’ को संज्ञा दिए र अमेरिकालाई अब बेलायतको आवश्यकता नरहेको समेत बताए।
कानुनी विशेषज्ञहरूले नागरिक पूर्वाधारमा आक्रमण गर्नु युद्ध अपराध हुन सक्ने चेतावनी दिए तापनि ट्रम्पले आफू यस्ता कुरामा चिन्तित नरहेको स्पष्ट पारेका छन् ।
अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार गत फेब्रुअरी २८ देखि सुरु भएको यो द्वन्द्वमा अमेरिकाले इरानमा १३,००० भन्दा बढी पटक आक्रमण गरिसकेको छ भने इरानले पनि इजरायल र वरपरका क्षेत्रमा मिसाइल प्रहार जारी राखेको छ।
