ओली र लेखकलाई हिरासतमुक्त गर्न सर्वोच्चको परमादेश

काठमाडौं। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रक्रिया पुर्‍याएर हिरासतमुक्त गर्न परमादेश आदेश दिएको छ। न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले उक्त परमादेश आदेश जारी गरेको हो। यससँगै ओली र लेखक बिहीबार हिरासतमुक्त हुनेछन्।

दुवै जनाको तर्फबाट पेश गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्चले ‘ओली र लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को परिक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्यसम्मन्न गरी जो जे गर्नुपर्ने गराउनू’ भनी सरकारको नाममा परमादेशको आदेश जारी गरेको हो। सर्वोच्चले आदेशको पूर्ण पाठ तयार हुन समय लाग्ने हुँदा संक्षिप्त आदेश जारी गरिएको जनाएको छ।

गैरकानुनी ढंगले पक्राउ गरेको दावी गर्दै ओलीका तर्फबाट श्रीमति  राधिका शाक्य र लेखकको तर्फबाट श्रीमति यशोदा लेखकले छुट्टाछुट्टै बन्दीप्रत्यक्षिकरण रिट निवेदन पेश गरेका थिए।

राधिकाले दायर गरेको रिटमा प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको थियो । त्यस्तै  लेखकको  रिटमा न्यायाधीश कुमार रेग्मीको इजलासले पनि कारण देखाउ आदेशसँगै लिखित जवाफ माग गरेको थियो ।

रिट निवेदनमा अदालतबाट पक्राउ अनुमति नलिएको, जरुरी पक्राउ पूर्जी जारी गर्ने अवस्था समेत नरहेको र कार्की आयोगले गरेको सिफारिसका आधारमा गरिएको पक्राउ कानुन सम्मत नभएको उल्लेख छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको  जाँचबुझ गन गठित गौरी बहादुर कार्की नेतृत्वको आयोगले ओली र लेखकमाथि अनुसन्धान र कारबाही गर्न सिफारिस गरेको थियो । आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा ओली र  लेखकलाई पक्राउ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *