एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली। कर्णाली प्रदेशअन्र्तगतका जिल्ला हुम्ला र कालीकोटका दुई महिलाको आज हवाई उद्धार गरिएको छ। त्यसमध्ये एक जना सुत्केरी भइसकेपछि र एक जना सुत्केरी व्यथा लागेपछिको जटिल स्वास्थ्यावस्थाका कारण सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

सुत्केरीपछिको जटिल स्वास्थ्य समस्याका कारण खार्पुनाथ गाउँपालिका–५ हुम्लाकी ४५ वर्षीया सरिला शाहीलाई थप उपचारका लागि उद्धार गरिएको हो। घरमै सुत्केरी हुँदा साल अड्किएर अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी नन्दबहादुर शाहीले जानकारी दिए। उनका अनुसार जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि शाहीलाई कर्णाली प्रदेश अस्पतालमा रेफर गरिएको थियो।

त्यसैगरी पलाँता गाउँपालिका–९ कालीकोट थिर्पुकी सुत्केरी व्यथा लागेकी २२ वर्षीया अप्सरा शाहीलाई पनि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

गए राति जिल्ला अस्पताल मान्म पुर्याइएकी शाहीलाई थप उपचारका लागि आजै सुर्खेतस्थित प्रदेश अस्पताल पठाइएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए। उनका अनुसार गर्भको शिशुको अवस्था जटिल देखिएको र अत्यधिक रक्तस्रावका कारण उनलाई सुर्खेत रेफर गरिएको हो।

ती दुवै महिलालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धार गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *