वासिङ्टन। इरान र इजरायल-अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच क्याथोलिक धर्मगुरु पोप लियो चौधौँ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्बन्धमा गम्भीर दरार उत्पन्न भएको छ।
इरानमा भइरहेको अमेरिकी सैन्य हस्तक्षेप र राष्ट्रपति ट्रम्पको आक्रामक अभिव्यक्तिको पोपले कडा शब्दमा आलोचना गरेपछि दुई शक्तिशाली व्यक्तित्वबीच द्वन्द्व चर्किएको हो।
हालै राष्ट्रपति ट्रम्पले इरानको सभ्यता नै समाप्त पारिदिने आशयको चेतावनी दिएपछि पोप लियोले त्यसलाई “पूर्णतया अस्वीकार्य” भन्दै टिप्पणी गरेका थिए। भ्याटिकनबाट जारी सन्देशमा पोपले भनेका छन्- “परमेश्वरले कुनै पनि युद्धलाई आशीर्वाद दिनुहुन्न। जसको हात रगतले लतपतिएको छ, उनीहरूको प्रार्थना ईश्वरले सुन्नुहुन्न।”
पोपको यो भनाइ ट्रम्प प्रशासनले इरानमा चलाइरहेको सैन्य अभियान ‘अपरेशन एपिक फ्युरी’ र ट्रम्पले प्रयोग गर्ने “धार्मिक राष्ट्रवादी” भाषाप्रति लक्षित रहेको विश्लेषकहरू बताउँछन्।
पोपको आलोचनापछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत कडा प्रतिक्रिया दिएका छन्। उनले पोप लियोलाई “विदेशी नीतिमा कमजोर” र “अति उदारवादी” भन्दै आलोचना गरेका छन्। ट्रम्पले भनेका छन् “मलाई यस्तो पोप मन पर्दैन जसले इरानलाई आणविक हतियार राख्न छुट दिने सोच राख्छ। उहाँले धर्म चलाउनुपर्छ, राजनीति र सुरक्षा होइन।”
पहिलो अमेरिकी मुलका पोप लियोले ‘पाम सन्डे’ र ‘इस्टर’ को अवसरमा इरानमा भइरहेको बमबारीलाई “क्रूर” भन्दै तत्काल युद्धविरामको माग गरेका छन्।
पोपले युद्धलाई “अहंकारको भ्रम” को संज्ञा दिँदै निर्दोष बालबालिका र वृद्धवृद्धाहरू मारिएकोमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।
अमेरिकाभित्रै पनि धेरै क्याथोलिक धर्मगुरुहरूले पोपको अडानलाई समर्थन गरेका छन्, जसले गर्दा चुनावी वर्षमा रहेका ट्रम्पलाई राजनीतिक दबाब सिर्जना भएको छ।
एकै देश (अमेरिका) सँग सम्बन्धित राष्ट्रपति र धर्मगुरुबीचको यो टकरावले विश्व राजनीतिमा नयाँ बहस छेडेको छ। एकातिर ट्रम्पले ‘राष्ट्रिय सुरक्षा’ लाई प्राथमिकता दिएका छन् भने अर्कोतिर पोपले ‘मानवीय मूल्य र शान्ति’ लाई जोड दिइरहेका छन्।
इरानमा जारी तनावले विश्व तेल बजार र अन्तर्राष्ट्रिय सुरक्षामा असर पारिरहेका बेला, यी दुई प्रभावशाली व्यक्तित्वको द्वन्द्वले शान्ति स्थापनाका प्रयासहरूलाई कसरी प्रभावित गर्छ भन्नेमा विश्वको ध्यान खिचिएको छ।
