कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने

काठमाडाैं। नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने भएका छन्। लामो समयदेखिको रस्साकस्सी र आन्तरिक छलफलपछि कांग्रेसले आङ्देम्बेको नाममा सहमति जुटाउँदै उनलाई दलको नेता बनाउने तयारी भएकाे हाे।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गठन गरेको कार्यदलले गरेको पहल र उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा भएको वार्ताले अन्ततः आङ्देम्बेको नाममा सबै पक्षलाई एक ठाउँमा ल्याउन सफल भएको हो।

संसदीय दलको नेताका लागि आङ्देम्बेका साथै पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र सांसद मोहन आचार्यलगायतले दाबी गर्दै आएका थिए। तर, पार्टीभित्र एकताको सन्देश दिने र सुदृढ ढंगले अगाडि बढ्ने उद्देश्यका साथ अन्य आकांक्षीहरूले आफ्नो दाबी फिर्ता लिएपछि आङ्देम्बेको बाटो सहज बनेको हो।

सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले पनि आङ्देम्बेलाई नै दलको नेता बनाउने प्रस्ताव अगाडि सारेका थिए। केन्द्रीय कार्यसम्पादन समितिबाट अनुमोदन भएलगत्तै आजै बस्ने संसदीय दलको बैठकले उनलाई औपचारिक रूपमा दलको नेतामा चयन गर्ने तयारी गरेको छ।

समानुपातिक सांसदका रूपमा रहेका आङ्देम्बे पार्टीको १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा निर्वाचित भएका थिए। उनले लामो समयदेखि पार्टीभित्रको राजनीतिक सन्तुलन मिलाउन र मझधारको भूमिका निर्वाह गर्दै आएका थिए।

सभापति थापाको कार्यशैली र दृष्टिकोणमा स्पष्ट समर्थन जनाउँदै आएका आङ्देम्बेले अब संसद्मा कांग्रेसको संसदीय मोर्चाको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन्। २०७० सालको संविधानसभा निर्वाचनमा पाँचथर-२ बाट निर्वाचित भई संसदीय अनुभव बटुलिसकेका उनी अबको बदलिँदो राजनीतिक परिस्थितिमा कस्तो भूमिका खेल्छन्, त्यो भने हेर्न बाँकी नै छ।

पार्टीका उच्च तहका नेताहरूको सहमतिमा उनको नाम टुंगो लागेकाले यसलाई कांग्रेसभित्रको गुटगत राजनीति अन्त्य गर्ने प्रयासका रूपमा पनि लिइएको छ। यस चयनले अब संसद्मा नेपाली कांग्रेसको प्रभावकारी उपस्थिति रहने र सरकारसँगका कतिपय पेचिला विषयहरूमा उनले कस्तो नेतृत्व प्रदान गर्छन् भन्ने चासो सबैतिर बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *