विश्व खुसीयाली प्रतिवेदन २०२६ : सामाजिक सञ्जालले खोस्दै युवाहरूको खुसी

काठमाडौँ । बिहीबार प्रकाशित विश्व खुसीयाली प्रतिवेदन २०२६ का अनुसार, सामाजिक सञ्जालको अत्यधिक प्रयोगले युवाहरूको खुसी र कल्याणमा भारी गिरावट ल्याइरहेको छ। यसको असर विशेषगरी अंग्रेजी भाषी देशहरू र पश्चिमी युरोपका किशोरीहरूमा बढी चिन्ताजनक देखिएको छ।

अक्सफोर्ड विश्वविद्यालयको वेलबिइङ रिसर्च सेन्टरद्वारा प्रकाशित यस वार्षिक प्रतिवेदनले फिनल्याण्ड लगातार नवौँ वर्ष पनि विश्वको सबैभन्दा खुसी देश बन्न सफल भएको देखाएको छ। यसका साथै, आइसल्याण्ड, डेनमार्क, स्विडेन र नर्वे जस्ता अन्य नर्डिक देशहरू पनि शीर्ष १० भित्र पर्न सफल भएका छन्।

प्रतिवेदनले अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डमा २५ वर्षमुनिका युवाहरूको जीवनप्रतिको मूल्यांकनमा विगत एक दशकमा उल्लेखनीय गिरावट आएको देखाएको छ। यस प्रवृत्तिको मुख्य कारण घण्टौँसम्म सामाजिक सञ्जालमा झुम्मिनुलाई मानिएको छ।

  • कोस्टारिका चौथो स्थानमा; नर्डिक देशहरू शीर्ष स्थानमै

यस वर्ष सूचीको शीर्ष पाँचमा कोस्टारिकाले नयाँ प्रवेश पाएको छ। सन् २०२३ मा २३औँ स्थानमा रहेको कोस्टारिका यस वर्ष ठूलो छलाङ मार्दै चौथो स्थानमा उक्लिएको छ।

प्रतिवेदनले पारिवारिक आत्मीयता र अन्य सामाजिक सम्बन्धले मानिसको खुसीमा ल्याएको बढोत्तरीलाई यसको मुख्य कारण मानेको छ। अक्सफोर्डका अर्थशास्त्रका प्राध्यापक तथा वेलबिइङ रिसर्च सेन्टरका निर्देशक एवं विश्व खुसीयाली प्रतिवेदनका सह-सम्पादक जन-इमानुएल डे नेभले भने, ‘हामीलाई लाग्छ, उनीहरूको सामाजिक जीवनको गुणस्तर र उनीहरूले अहिले पाइरहेको स्थिरता नै यसको मुख्य कारण हो।’

उनले थपे, ‘समग्र ल्याटिन अमेरिकामा पारिवारिक र सामाजिक सम्बन्ध निकै बलियो छ। त्यहाँ उच्च स्तरको सामाजिक पुँजी छ, जुन अन्य ठाउँमा विरलै पाइन्छ।’

प्रतिवेदनका अनुसार, फिनल्याण्ड र अन्य उत्तरी युरोपेली देशहरू निरन्तर शीर्ष स्थानमा रहनुका पछाडि सम्पत्ति, त्यसको समान वितरण, आर्थिक मन्दीबाट जनतालाई जोगाउने कल्याणकारी राज्य व्यवस्था र स्वस्थ जीवन प्रत्याशा जस्ता कुराहरूको संयोजन मुख्य कारण हो।

फिनल्याण्ड फेरि पनि पहिलो स्थानमा आएपछि त्यहाँका राष्ट्रपति अलेक्ज्याण्डर स्टबले बिहीबार प्रतिक्रिया दिँदै भने, ‘मलाई लाग्दैन यसमा कुनै जादुई मन्त्र छ, तर स्वतन्त्रता, समानता र न्यायतर्फ अग्रसर हुने समाज हुनुले पक्कै मद्दत गर्छ।’

हेलसिन्कीमा चिसो समुद्री पानी भएको पोखरीमा पौडी खेलिरहेका पेन्सनप्राप्त नागरिक सेमी साल्मीले पनि राष्ट्रपतिको कुरामा सहमति जनाए। उनले भने, ‘फिनिसहरू धेरै सन्तुष्ट र आत्मविश्वासी छन्, उनीहरूलाई आफ्नो प्रणाली, आफ्नो देश र सरकारप्रति पूर्ण विश्वास छ।’

उनले राम्रो स्वास्थ्य सेवामा पहुँच हुनुको फाइदालाई पनि जोड दिए। ‘मेरा बुबा अहिले दीर्घकालीन हेरचाह केन्द्रमा हुनुहुन्छ र राज्यको प्रणालीले उहाँको असाध्यै राम्रो हेरचाह गरिरहेको छ,’ उनले भने।

अघिल्ला वर्षहरूमा जस्तै, प्रमुख द्वन्द्वग्रस्त क्षेत्रहरू वा त्यसको वरपरका राष्ट्रहरू सूचीको पुछारमा छन्। अफगानिस्तान फेरि पनि विश्वकै सबैभन्दा दुःखी देश बनेको छ भने त्यसपछि अफ्रिकी देशहरू सियरा लियोन र मलावी रहेका छन्।

देशहरूको यो वरीयता १४० देश र क्षेत्रका करिब १ लाख मानिसहरूले आफ्नो जीवनस्तरको मूल्यांकन गरेर दिएको जवाफमा आधारित छ। यो अध्ययन एनालिटिक्स फर्म ग्यालप र संयुक्त राष्ट्रसंघीय दिगो विकास समाधान नेटवर्कको साझेदारीमा गरिएको हो। धेरैजसो देशहरूमा प्रत्येक वर्ष टेलिफोन वा प्रत्यक्ष भेटेर करिब १,००० जनालाई सम्पर्क गरिन्छ।

  • किशोरीहरू विशेष रूपमा जोखिममा

उत्तरदाताहरूलाई ० देखि १० सम्मको स्केलमा आफ्नो जीवनको मूल्यांकन गर्न भनिएको थियो। अंग्रेजी भाषी र पश्चिमी युरोपेली देशहरूमा २५ वर्षमुनिका युवाहरूको स्कोर विगत एक दशकमा झन्डै एक अंकले घटेको छ।

प्रतिवेदनले युवाहरूको मानसिक सुख र सामाजिक सञ्जालको अत्यधिक प्रयोग बिचको नकारात्मक सम्बन्ध किशोरीहरूमा अझ बढी चिन्ताजनक रहेको उल्लेख गरेको छ। उदाहरणका लागि, दिनमा ५ घण्टा वा सोभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने १५ वर्षका किशोरीहरूमा जीवनप्रतिको सन्तुष्टि कम प्रयोग गर्नेहरूको तुलनामा निकै घटेको पाइएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार, दिनमा एक घण्टाभन्दा कम समय सामाजिक सञ्जाल चलाउने युवाहरूमा खुसीको स्तर सबैभन्दा उच्च देखिएको छ; जुन सामाजिक सञ्जाल नै नचलाउनेहरूको भन्दा पनि बढी हो। तर, हाल किशोरकिशोरीहरूले दिनमा औसत साढे दुई घण्टा सामाजिक सञ्जालमा बिताउने गरेको अनुमान छ।

‘यो स्पष्ट छ कि हामीले सामाजिक सञ्जालमा सकेसम्म सामाजिक पक्षलाई फर्काउने प्रयास गर्नुपर्छ,’ डे नेभले भने।

  • एल्गोरिदम फिड र इन्फ्लुएन्सरहरू मुख्य दोषी

अनुसन्धानकर्ताहरूले मध्यपूर्व र दक्षिण अमेरिका जस्ता विश्वका केही भागहरूमा सामाजिक सञ्जालको प्रयोग र खुसीबिच सकारात्मक सम्बन्ध रहेको पनि औँल्याएका छन्। त्यहाँ सामाजिक सञ्जालको अत्यधिक प्रयोगका बाबजुद पनि युवाहरूको खुसी घटेको छैन।

प्रतिवेदनले महादेशहरूबिच फरक पर्ने विभिन्न कारक तत्वहरूलाई यसको कारण मानेको छ। यद्यपि, केही देशहरूमा सामाजिक सञ्जालको अत्यधिक प्रयोग युवाहरूको खुसी घट्नुको एउटा महत्त्वपूर्ण कारक रहेको निष्कर्ष निकालिएको छ।

प्रतिवेदनका अनुसार, ती प्ल्याटफर्महरू सबैभन्दा बढी समस्याग्रस्त छन् जसमा एल्गोरिदम फिड हुन्छ, जहाँ इन्फ्लुएन्सरहरूको दबदबा हुन्छ र जसको मुख्य सामग्री तस्बिर तथा भिडियो हुन्छ। किनकि यस्ता सामग्रीले मानिसहरूलाई एकअर्कासँग तुलना गर्न उक्साउँछन्। तर सञ्चार र कुराकानीलाई मात्र मुख्य प्राथमिकता दिने प्ल्याटफर्म प्रयोग गर्नेहरूको अवस्था भने राम्रो देखिएको छ।

सन् २०२६ को वरीयतामा लगातार दोस्रो वर्ष कुनै पनि अंग्रेजी भाषी देश शीर्ष १० मा अटाउन सकेनन्। अमेरिका २३औँ, क्यानडा २५औँ र बेलायत २९औँ स्थानमा छन्।

सामाजिक सञ्जालमा केन्द्रित यो प्रतिवेदन यस्तो समयमा आएको छ, जतिबेला विश्वका धेरै देशहरूले नाबालिगहरूका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएका छन् वा प्रतिबन्ध लगाउने बारे गम्भीर रूपमा विचार गरिरहेका छन्।

एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *