काठमाडौँ । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विक घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुधबार उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो ।
प्रहरी निरीक्षकको कमान्डमा रहेको ब्युरोको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए। उनका अनुसार घटनासँग सम्बन्धित मोबाइलसहितका विभिन्न विद्युतीय सामग्री अनुसन्धानका लागि प्रयोगशालामा पठाइएको छ।
सुर्खेत प्रहरीले पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकेको डीएसपी बुढथापाले बताए । पहिलो चरणको अनुसन्धान जिल्लाबाटै सकाएको र घटनाको गाम्भीर्यतालाई मध्यनजर गरेर केन्द्रीय अनुसन्धान ब्यूरोको पनि सहयोग लिइएको उनले बताए ।
अहिलेसम्म पोस्टमार्टम रिपोर्ट आइसकेको छ । फरेन्सिक ल्याबमा पीडित र पीडक परिवार दुवै जनाको मोबाइल लगायत विद्युतीय सामाग्रीहरू अनुसन्धानका लागि पठाएको र त्यसको रिपोर्ट आइनसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि एउटा छुट्टै अनुसन्धान टिम बनाएर काम गरिरहेको प्रहरी उपरीक्षक शाहीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार हालसम्म परिवारजनले बालिकाको शव बुझेका छैनन् । पीडित परिवारले दिएको जाहेरीका आधारमा शव परीक्षणका लागि थप अनुसन्धान गर्न भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शव परीक्षण गरी त्यसको प्रतिवेदन दिएको छ ।
सो प्रतिवेदनअनुसार जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ ।
गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसाको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कार पछि हत्या भएको थियो । मृतकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको डिएसपी बुढथापाले जानकारी दिए । सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
