काठमाडौँ । तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगसमक्ष भदौ २३ को प्रदर्शनका क्रममा गृह सचिव र सुरक्षा प्रमुखहरूलाई बल प्रयोग गर्दा कुनै पनि व्यक्तिको मृत्यु हुने अवस्था नआओस् भनेर निर्देशन दिएको बयान दिएका छन् ।
आयोगले सरकारलाई बुझाए पनि गोप्य नै राखिएको प्रतिवेदनमा लेखकले भदौ २२ गते साँझ बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको र त्यहाँ राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी लगायत सबै सुरक्षा निकायबाट भदौ २३ को जेनजी आन्दोलन शान्तिपूर्ण हुने जानकारी प्राप्त भएको बताएका छन् ।
‘गृहमन्त्रीको हैसियतले मैले २३ गतेको प्रदर्शनका सन्दर्भमा गृहसचिव र सुरक्षा प्रमुखहरूलाई बल प्रयोग गर्दा हताहती नहोस्, मृत्यु हुने अवस्था नआओस् तथा जोखिम र सम्भावित घुसपैठप्रति सतर्क रहन निर्देशन दिएको थिएँ’, आयोगसमक्ष लेखकले दिएको बयानमा उल्लेख छ ।
उनले भदौ २४ को घटनालाई युवाको मागभन्दा पृथक ढङ्गले हेर्नुपर्ने भन्दै आपराधिक कार्यमा संलग्न जोसुकैलाई कानुन बमोजिम कारबाही हुनुपर्छ भन्नेमा आफू दृढ रहेको पनि बताएका छन् ।
