रास्वपा लक्षित ओलीकाे टिप्पणी – नयाँहरु भनेर चाख्दा अमिलो र पिरो पर्न सक्छ

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शक्तिका रूपमा उदाएका राजनीतिक दलहरूलाई नुन नहालेको सागजस्तै स्वादहीन भएको टिप्पणी गरेका छन्।

उनले नयाँ दलहरूको कुनै भिजन र गन्तव्य नरहेको आरोप लगाए।

बुधबार झापामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ शक्तिहरूप्रति प्रहार गरेका हुन्।

अध्यक्ष ओलीले भने, ‘नयाँ आए, नयाँ आए भनेर खुब हल्ला चल्यो। नयाँ आए भनेको त के रहेछ भनेर चाखेको, नुन नहालेको साग जस्तो अलिनो र अमिलो रहेछ।’

उनले नयाँ दलहरूमा न देश बनाउने योजना छ, न कुनै स्पष्ट गन्तव्य नै रहेको जिकिर गरे।

‘नयाँ शक्ति भनेर आएकाहरूको कुनै भिजन छैन, नीति छैन, कार्यक्रम छैन। खाली हिँड्ने मात्रै काम छ। ट्रेडमिलमा दौडिएजस्तै हो, दौडिएको छ तर जहाँको त्यहीँ,’ उनले भने।

अध्यक्ष ओलीले गत निर्वाचनमा ‘नो नट अगेन’ अभियान चलाएर पुराना दलहरूलाई विस्थापित गर्न खोजिएको तर नयाँ शक्तिहरूले जनताको अपेक्षा पूरा गर्न नसकेको दाबी गरे।

‘पुरानालाई भोट नदेऊ, पुराना काम लाग्दैनन् भनेर अभियान चलाइयो। तर नयाँले के गरे ? संसदमा आएर के भूमिका खेले ?,’ उनले प्रश्न गरे।

उनले एमालेलाई पुरानो र थोत्रो भनेर आलोचना गर्नेहरूलाई जवाफ दिँदै एमाले पुरानो रक्सीजस्तै परिपक्व र अनुभवी भएको बताए। ‘एमाले पुरानो पार्टी हो, तर यसको विचार र काम गर्ने शैली सधैं नयाँ र ताजा छ। हामीसँग देश बनाउने अनुभव छ, भिजन छ,’ ओलीले भने।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेलाई एकल बहुमत दिलाउन युवाहरूलाई सक्रिय हुन निर्देशन दिए। उनले एमालेबाहेक देशको विकास र समृद्धिको नेतृत्व गर्ने अरू कुनै शक्ति नरहेको दाबी गर्दै जनतालाई भ्रममा नपर्न आग्रह गरे।

‘एमालेलाई एकल बहुमत नल्याई देश बन्दैन। त्यसैले युवा साथीहरू अहिलेदेखि नै संगठन विस्तार र जनताको माझमा जानुहोस्,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *