बिपी राजमार्गको काभ्रे-खण्डमा आजबाट राति १२ घण्टा सवारी आवागमन रोक

रामेछाप। मनसुनका कारण पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्न बिपी राजमार्गअन्तर्गत काभ्रे-खण्डमा आजदेखि रातिको समयमा सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ।

काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाउने निर्णय जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समिति बैठकले सो निर्णय गरेको हो।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गरेको सूचना अनुसार साउन १ गतेदेखि साउन मसान्तसम्म रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको हो। सार्वजनिक र निजी दुवै खालका सवारीसाधन अब रातको समयमा चल्न पाउने छैनन्।

मनसुन सक्रिय भइरहेका बेला असुरक्षित सडक खण्डमा दुर्घटना र जनधनको क्षति न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको कार्यालयले जनाएको छ।

गएको वर्ष असोजमा परेको पानीले आएको बाढी र पहिरोका कारण बिपी राजमार्गको रोशीखोला क्षेत्रमा ठुलो क्षति भएको छ। सो स्थानमा अस्थायी सडक निर्माण गरी यातायात साधन सञ्चालन गरिएको छ। चौकी डाँडादेखि नेपालथोकसम्मको सडक खण्डमा ठुलो क्षति पुगेको छ। बिपी राजमार्गमा काठमाडौंबाट पूर्व आउने दैनिक सयौँ गाडीहरू सञ्चालनमा रहने गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *