प्रतिनिधिसभामा सरकारले गुमायो दुई तिहाइ, राष्ट्रियसभामा अल्पमतमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा दुई तिहाइ बहुमत गुमाएको छ । प्रधानमन्त्री ओलीले संसद्बाट विश्वासको मत लिँदा १ सय ८८ जना सांसद्को समर्थन पाएका थिए । त्यो भनेको दुई तिहाइ बढी हो ।

प्रतिनिधिसभामा ५ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारले दुई तिहाइको बहुमत गुमाएको हो । साथै, सरकारमा सहभागी रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सरकारबाट बाहिरिइसकेको छ । नाउपाको प्रतिनिधिसभामा ४ सिट रहेको छ ।

प्रतिनिधिसभामा दुई तिहाइ बहुमत गुमाएको सरकार राष्ट्रिय सभामा भने अल्पमतमै परेको छ । कूल ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेससँग १६, एमालेसँग ११ सिट र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग १ सिट छ । कांग्रेस, एमाले र लोसपासँग भएको सिट जोड्दा २८ मात्रै हुन्छ । जबकी राष्ट्रिय सभामा बहुमतको लागि ३० सिट आवश्यक पर्छ ।

अब राष्ट्रिय सभामा प्रतिपक्षी दलहरु नेकपा (माओवादी केन्द्र) सँग १७, नेकपा (एकीकृत समाजवादी) सँग ८, जसपा नेपालसँग ३ र राष्ट्रिय जनमोर्चासँग १ सिट र वामदेव गौतम गरी ३० सिट रहेको छ । राष्ट्रिय सभा वा प्रतिनिधिसभाबाट विधेयक पारित हुन बहुमतको आवश्यक पर्छ ।

सरकारले जनतालाई सुशासनको प्रत्याभूति गराउन नसकेको, भ्रष्टाचार, अनियमित्तता, दण्डहीनता, कमिशनतन्त्र र विचौलियाहरूको चलखेल नियन्त्रण गर्न नसकेको, संघीयता कार्यान्वन गर्न कुनै ठोस प्रयास नभएको, संविधान संशोधन गर्न हालसम्म कुनै प्रयास नभएको निष्कर्षसहित जसपा नेपाल सरकारबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *