स्वास्थ्य बिमाको नयाँ व्यवस्थाले भरतपुरवासीलाई असहज

चितवन । यहाँको भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका दैनिक एक हजार ५०० हाराहारी बिरामी प्रथम विन्दुबाट आउने गर्दछन् । तीमध्ये ५०० हाराहारी दीर्घरोगका बिरामी औषधि लिन आउँछन् ।

स्वास्थ्य बिमा बोर्डले भरतपुर अस्पताललाई प्रथम सेवा विन्दुबाट साउन १ गतेबाट हटाउने भएपछि भरतपुरको सहरी क्षेत्रका नागरिक प्रत्यक्ष प्रभावित हुने भएका छन् । भरतपुरको प्रथम सेवा विन्दु शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र तोकिएको छ । भरतपुरको चौबीसकोठीबाट १४ किलोमिटर टाढा रहेको केन्द्र पुग्नका महानगरका अन्य वडाबाट झन टाढाको दूरी पर्न आउँछ ।

भरतपुर आउनका लागि सार्वजनिक यातायात सहज भए पनि शिवनगर जान कतिपय ठाउँबाट भरतपुर आएर पुनः गाडी परिवर्तन गरी पुग्नुपर्ने बाध्यता छ । बोर्डले प्रथम सेवा विन्दु भरतपुर अस्पताल हटाएसँगै नागरिकले चिन्ता व्यक्त गरेका छन् । भरतपुर अस्पतालको स्वास्थ्य बिमा इञ्चार्ज लिलाधर पौडेलका अनुसार दैनिक एक हजार ५०० हाराहारी बिमाका नयाँ बिरामी अस्पताल आउने गर्दछन् । अस्पतालमा आउने कूल बिरामीको ७० देखि ७५ प्रतिशत बिमाका हुने गर्दछन् । अन्यत्रबाट रिफर भएर आउनेहरु १०० हाराहारी छन् ।

भरतपुर अस्पतालमा मधुमेह, मुटु, उच्च रक्तचाप जस्ता दीर्घरोगका नियमित औषधि सेवन गर्नेहरु ५०० हाराहारी आउँछन् । ती अधिकांश भरतपुरको मुख्य सहरी क्षेत्रका ज्येष्ठ नागरिक हुन् । भरतपुर अस्पतालमा चितवन जिल्लाका अतिरिक्त छिमेकी जिल्लाका नागरिक प्रथम विन्दुका रुपमा राखेका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, गोरखा, धादिङ, मकवानपुरलगायतका जिल्लाका विभिन्न पालिकाका नागरिकले भरतपुर अस्पताललाई बिमाको पहिलो विन्दु बनाएको पौडेलले बताएयो । सेवाको पहिलो विन्दु हटेसँगै सेवा पाइरहेका प्रभावित हुने पौडेलको भनाई छ । भरतपुर अस्पताल स्वास्थ्य बिमा बोर्डमा सेवा दिने देशभरकै उत्कृष्ट अस्पताल हो । यहाँ बिमाका बिरामीलाई लक्षित गरी विभिन्न काउन्टर बिहान सबेरैदेखि सञ्चालन गरी सेवा दिँदै आएको छ ।

भरतपुर आँखा अस्पताल पनि प्रथम सेवा विन्दुबाट हट्ने भएको छ । यससँगै आँखाको उपचार गर्न आउने बिरामीहरु प्रभावित हुने भएका छन् । जिल्लाका विभिन्न अस्पतालमा प्रथम सेवा विन्दु भएका बिरामीले आँखा अस्पतालमा रिफरल नलगिकन प्रथम सेवा विन्दुको हैसियतमा सेवा दिँदै आएको छ । अस्पतालका व्यवस्थापक दयाशङ्कर चौधरीका अनुसार दैनिक ४०० बिरामी बिमामार्फत उपचार गर्न यहाँ आउने गर्दछन् । बाहिरी जिल्लाबाट रिफरल भएर आउने बिरामीको सङ्ख्या न्यून छ ।

बोर्डले भरतपुरका लागि तोकेको शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति र पूर्वाधार छैन । कार्यालयका प्रमुख भविश्वर अधिकारी भरतपुर अस्पतालमा आउने बिरामी शिवनगर आउने हो भने व्यवस्थापन गर्न नसकिने बताउँछन् । उनका अनुसार अहिले केन्द्रमा दैनिक २५० देखि ३०० सम्म बिरामी आउने गर्दछन् । केन्द्रमा हाल दुई जना मेडिकल अधिकृतले सेवा दिँदै आएका छन् । साउन १ गतेदेखि थप दुई जनालाई नियुक्ति दिने तयारी गरिएको उनले बताए।

अधिकारीले भने, “अहिले आइरहेका बिरामीलाई नै व्यवस्थापन गर्न नसकेर थप दुई जना मेडिकल अधिकृत नियुक्त गर्न लागिएको छ, बिरामी थपिए सेवा दिन कठिन छ ।” प्रथम सेवा विन्दुमा आएका बिरामी यहाँको सेवा दिएर मात्रै थप सेवा चाहिने भएमा मात्रै रिफर गर्नुपर्ने हुन्छ । त्यसका लागि आवश्यक जनशक्ति र पूर्वाधार नहुने भएकाले बिमाका सेवाग्राही प्रभावित हुने देखिएको छ ।

भरतपुरमा ठूला अस्पताल भएकाले स्थानीय तहहरुमा बिरामीको चाप कम हुँदा अस्पतालको जनशक्ति र पूर्वाधार त्यति मजबुत छैन । प्रथम सेवा विन्दुका लागि छिमेकी पालिकाहरुमा रहेका अस्पतालमा जान सक्ने भए पनि व्यवहारिक र सुविधाजनक नहुने सेवाग्राहीको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *